सरकारबाट बाहिरिएसँगै महन्थ ठाकुर समूहमा तीव्र असन्तुष्टि

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षमा असन्तुष्टि सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीका इमानदार नेता–कार्यकर्तालाई पाखा लगाएर नेताहरुको आसपासमा रहनेलाई मात्र मौका दिएको भन्दै असन्तुष्टि बढेको हो । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनमा सघाएको, सरकारमा सामेल भएको, कार्यकारिणी समिति हेरफेर गरेको लगायतका विषयमा सो पक्षकै कयौं नेता असन्तुष्ट देखिएका हुन् । पछिल्लो समय अध्यक्ष ठाकुरप्रति कार्यकारिणी समितिका सदस्यहरु शरतसिंंह भण्डारी, राजकिशोर यादव, राष्ट्रियसभाका सदस्य शेखर सिंह, विघटित प्रतिनिधिसभाका सदस्यहरु प्रमोद साह, अमृता अग्रहरी, नेता गोविन्द चौधरीलगायत असन्तुष्ट देखिएका छन् । उल्लेखनीय छ, उनीहरु सबैले जसपाभित्र ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीचको शक्ति संघर्षमा ठाकुरलाई नै साथ दिँदै आएका थिए । ठाकुरले हालै कार्यकारिणी समिति फेरबदल गर्दा नेता भण्डारी र यादवको एकजना पनि मान्छे राखिएको छैन । त्यसबाट यी दुवै नेता असन्तुष्ट देखिएका छन् । पार्टीमा अन्तरिक विवाद भएको कारण भण्डारीले व्यक्तिगत असन्तुष्टिका कुरा बाहिर ल्याएका छैनन् तर आफ्ना निकट नेताहरुसँग भने उनले असन्तुष्टि जाहेर गर्दै आएका छन् । पार्टीमा पहिलादेखि नै विवाद रहेको र पछिल्लो समय महन्थ ठाकुरले गरेका काम तथा कतिपय निर्णयप्रति आफ्नो विमतिका बाबजुद पनि विवाद थप नबढोस् भनेर आफू चुप लागेको भण्डारीले आफ्ना निकट नेता–कार्यकर्तासँग भन्ने गरेका छन् । सुरुमा भण्डारी उपेन्द्र यादवको पक्षमा थिए तर सरकारमा सहभागी हुने चर्चा चलेपछि उनी महन्थ ठाकुरको पक्षमा लागेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्