नेपाली सेयरबजार : राजश्वको राम्रो स्रोत

Machchapuchchre

अर्थ राजनीति  ~  वर्षको १०० अर्ब राजश्व दिनसक्ने क्षमता देखिएको धितोपत्र बजारमा सरकारको ध्यान कहिल्यै पुगेन । चालू आर्थिक वर्षमा  करिब मासिक १ अर्ब राजश्वको स्रोत बनेको सेयर बजारलाई सरकारले ध्यान नदिएका कारण यसको नियमक निकाय धितोपत्र बोर्ड अर्थमन्त्रालयको एउटा शाखाभन्दा पनि कमजोर रहेको छ । जबसम्म धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैकजस्तै स्वयत्त निकाय बनाउन सकिन्न तबसम्म सेयर बजारको विकास क्षणिक हुन्छ । हुनतः धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष डा. रेवत बहादुर कार्कीको सुधार प्रयासले हाल बजार चलायमान भएको छ । उनैको सुधार प्रयासले एक वर्षयता धितोपत्र कारोबारमा निकै ठूलो उछाल आएको छ । ११-१२ सयको आसपास रहेको पुँजीबजार एक वर्षमै ३ हजारको बिन्दु पुग्न लागेको छ । हिजोआज कारोबारले रेकर्डमाथि रेकर्ड राखेर लगानीकर्ताहरूलाई उत्साहित बनाइरहेको छ । केही महिनायता त देशको समग्र राजस्वमा धितोपत्र कारोबारले पनि धेरै ठूलो योगदान दिन थालेको छ । धितोपत्र कारोबारमा अहिले दैनिक १४-१५ अर्बसम्मको कारोबार हुन्छ । यति ठूलो रकम दैनिक कारोबार हुनुलाई सामान्य मान्न सकिँदैन । सामान्य यस अर्थमा पनि मान्न सकिँदैन, किनकि एक वर्षअगाडि दैनिक ३०-३५ करोडको कारोबार हुन पनि मुस्किल हुन्थ्यो । कारोकार रकमले ५० करोड नाघ्दा त लगानीकर्ताहरू लड्डु नै बाँड्थे । यति छोटो समयमा पुँजीबजारमा यस्तो उचाइमा पुग्नु आफैंमा सकारात्मक कुरा हो । पुँजीबजारमा किन यसरी उछाल आयो त ? अहिलेको सन्दर्भमा यो महत्वपूर्ण प्रश्न हो । पुँजीबजार बिनाकारण उचाइमा पुगेको छैन । यसका पछाडि विभिन्न कारणहरू छन् । अघिल्लो वर्षको चैतमा पुँजीबजार अचानक ओरालो लागेर बन्द नै गर्नुपर्ने अवस्था आएको थियो । त्यस समयमा हजारौँ लगानीकर्ताले करोडौं रकम गुमाउनुपरेको थियो । त्यसपछि जब पुँजीबजार खुल्यो, त्यसपछि पुँजीबजार उकालो लाग्न थाल्यो । यसको अर्थ बीचमा जति समय पुँजीबजार बन्द रह्यो, त्यति नै समय नीतिगत हुन् वा प्राविधिक, धेरै सुधार हुन पुगे । तत्कालीन बोर्ड अध्यक्ष कार्कीको प्रयास तथा सुधारका कारण अनलाइन प्रविधिमा सुधार गरियो, धितोपत्र बोर्ड नेप्से र सरकारले विभिन्न नीतिगत सुधारहरू गरे । लगानी गर्न सहज वातावरण बनाइयो । त्यसैले अहिले नेप्सेले यस्तो उचाइ हासिल गरेको छ । यसमा नेपाल धितोपत्र बोर्ड (सेवन) को ठूलो योगदान छ । तत्कालीन अध्यक्ष कार्कीको कार्यकाल सकिएपछि बोर्डमा भीष्मराज ढुंगाना नियुक्त भए । उनले पनि कार्कीका सुधार पछयाउँदै अझ सुधरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । जसका कारण लगानीकर्ताहरूमा विश्वासको वातावरण सिर्जना भएको छ । अहिले सेयर लगानीकर्ताहरू धितोपत्र बोडप्रति ज्यादै विश्वसनीय छन् । विविध समस्याका बाबजुद पनि अनलाइन सेयर कारोबारमा सुधार आएको छ । एक वर्षपहिले २०-३० हजार अनलाइन प्रयोगकर्ता रहेकोमा अहिले ६ लाखभन्दा बढीले अनलाइनबाट कारोबार गर्ने गरेका छन् । ३६ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । यसलाई सामान्य मान्न सकिँदैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्