प्रतिगमन विरोधी एकातिर, मतियारहरु अर्कातिर हुन्छन् : उपेन्द्र यादव

Machchapuchchre

अर्थ राजनीति   ~   जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीमा लोकतन्त्रका पक्षधर, प्रतिगमन विरोधीहरु एकातिर र त्यसका मतियारहरुले अर्कोतिर हुने बताएका छन् । बिहीबार नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै एउटा पार्टीमा मात्र नभई पूरै देशभर ध्रुवीकरण हुने उल्लेख गरे । अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा पार्टी नफुट्ने र फुटाउन पनि नहुने बताए । अहिले सरकार हटाउने र बनाउने खेलभन्दा पनि जनताले हासिल गरेको उपलब्धीको रक्षाको लडाइँ प्रमुख रहेको उनले उल्लेख गरे ।  अध्यक्ष यादवले जनताले लामो समय गरेको त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, मौलिक हकलगायतका उपलब्धि जोगाउनका लागि राजनीतिक लडाइँ चलिरहेको बताए । उनले भने, ‘जनताले प्राप्त गरेका उपलब्धिलाई समाप्त पार्ने र मुलुकलाई प्रतिगमनतर्फ लैजाने एउटा ध्रुव छ भने अर्को त्यसलाई जोगाउने । यो प्रतिगमन र अग्रमनबीचको लडाइँ हो ।’ यादवले अहिले विचार र मिसनको लडाइँ चलेको बताउँदै मिसनका पक्षमा जो अगाडि बढ्छ, ती एक ठाउँ हुने र त्यसमा कुनै पार्टी, जाति र वर्गको दायरा नहुने बताए । जो प्रतिगमनका पक्षमा रहन्छन् र उनीहरुको  मतियार हुन्छन् तिनीहरु अर्कोतिर ध्रुवीकरण हुने यादवले बताए । जसपा अध्यक्ष यादवले भने, ‘२०१७ सालमा राजा महेन्द्रले प्रतिगमन गर्दा कोही जेलमा परे, प्रतिगमनका विरुद्ध उभिने कोही निर्वासनमा जानुप-यो । जो प्रतिगमनका पक्षमा थिए, राजा महेन्द्रका पक्षमा लागेर मोज गरिरहेका थिए । हरेक ऐतिहासिक कालखण्डमा देखापर्ने स्वभाविक घटना हुन्छन् । अन्तिम जित जनताको पक्षमा उभिनेकै हुन्छ ।’ यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने कुरामा पार्टीमा फरक विचार हुनु सामान्य घटना भएको टिप्पणी गर्दै सकेसम्म एकमतले निर्णय गर्ने दाबी गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्