अर्थ राजनीति ~ राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिँदै छ। यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत सङ्कलन गर्ने तयारी भइरहेको छ। तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले यो पटकको जनगणना कार्य यसअघिका जनगणनाको तुलनामा फरक र विस्तृत ढङ्गले गर्न लागिएको राससलाई बताउनुभयो। उहाँले भन्नुभयो, “जनगणना कार्यका लागि कैलाली जिल्लामा दुई सहित सुदूरपश्चिम प्रदेशभरी ३७ वटा स्थानीय जनगणना कार्यालय स्थापना भइरहेको छ ।” जनगणनाको आवश्यक पूर्वतयारीका लागि धनगढीमा तालीम गोष्ठी सञ्चालन भइरहेको छ। पूर्वतयारीस्वरूप सुपरीवेक्षक तालीम, इलाका जनगणना अधिकारीको तालीम, प्रशिक्षकका रूपमा शिक्षकलाई तालीमजस्ता कार्य भइरहेका छन्।
जनगणनाका लागि वैशाख २६ देखि जेठ १४ गतेसम्ममा घरपरिवारको सूचीकरण गर्ने तयारी छ। जनगणनाका क्रममा सामुदायिक प्रश्नावलीमार्फत वडास्तरका तथ्याङ्क सङ्कलन जस्तै कृषि र गैरकृषि उत्पादन र यसको निर्यातको अवस्था, वडाको प्रमुख राजस्वको स्रोत, सीमान्तकृत लोपोन्मुख जात, वडामा भौतिक, स्वास्थ्य र सामाजिक सुविधाका साथै विपद् जोखिमको अवस्था र पुग्ने गरेको क्षति, वन्यजन्तु, जङ्गली जनावरबाट पुग्ने गरेको क्षतिको विवरणसमेत सङ्कलन हुँदैछ। सामुदायिक प्रश्नावलीको उत्तरदाताका रूपमा वडाध्यक्ष वा वडासचिव रहने छन् । गणना कार्य आगामी जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ। राष्ट्रिय जनगणना, २०७८ देशभरका घर दैलोमा निश्चित समयभित्र पुगी सबै घर, परिवार तथा व्यक्तिको विवरण सङ्कलन गर्ने र सङ्कलित तथ्याङ्कको प्रशोधन एवं प्रकाशन गर्ने बृहत् राष्ट्रिय कार्यक्रम हो। नेपालमा पहिलोपटक जनगणना विसं १९६८ देखि शुरु भएको हो । विसं २०७८ मा सञ्चालन हुने जनगणना नेपालको बाह्रौँ तथा देशमा सङ्घीय व्यवस्था पछिको पहिलो जनगणना हो । राष्ट्रिय जनगणना कार्य वा तथ्याङ्क सङ्कलनको कार्य दुई चरणमा सञ्चालन हुँदैछ । पहिलो चरणमा सुपरीवेक्षकद्वारा प्रत्येक घर तथा घरपरिवारमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत घरलगायतको विवरण र दोस्रो चरणमा गणकद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फाराममार्फत घर परिवार तथा व्यक्तिको जनसाङ्खिकलगायतका विवरण सङ्कलन गर्ने तयारी छ ।