ओली नेतृत्वलाई समर्थन गर्ने कि नयाँ सरकार बनाउनेमा प्रष्ट हुन कांग्रेस र जसपालाई आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले ती दुई दलले निर्णय गरेपछि राजनीतिले नयाँ मोड लिने बताए। ‘यो सरकारलाई हाम्रो समर्थन छैन, प्राविधिक रूपमा चिठी दिनमात्रै बाँकी हो,’ श्रेष्ठले भने,‘उहाँहरूले ओली सरकारलाई नै समर्थन गर्ने भए पनि ठिक छ। हामी मिलेर नयाँ सरकार बनाउने भए पनि झन् राम्रो। तर उहाँहरू छिटो स्पष्ट हुनु पर्‍यो।’ श्रेष्ठले आजको बैठकमा राजनीतिक घटनाक्रमबारे विभिन्न दलहरूसँग भइरहेको छलफलबारे कुराकानी भएको र अहिले परिस्थिति अझै स्पष्ट भइनसकेको विषयमा छलफल भएको बताए। ‘केही दिनमै स्थायी कमिटीको औपचारिक बैठक बसेर हामीले आवश्यक निर्णय गर्छौं,’ श्रेष्ठले भने,‘स्थगित केन्द्रीय समिति बैठक र राष्ट्रिय भेला छिटै गर्ने विषयमा पनि छलफल भयो।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्