देशकै ठूलो जलाशययुक्त आयोजना कालीगण्डकीको अध्ययन शुरु

Machchapuchchre

अर्थ राजनीति  ~  ८४४ मेगावाट विद्युत् उत्पादन गर्ने योजना सहित अघि बढाइएको कालीगण्डकी जलविद्युत आयोजनाको अध्ययन शुरु भएको छ । उक्त आयोजनाको ग्लोबल टेण्डरमार्फत परामर्श नियुक्त गरेर विद्युत विकास विभागले स्थानीय तहमा अध्ययन शुरु गरेको हो । विभागले अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई परामर्शदाताको रुपमा नियुक्त गरेको हो । अहिले उक्त आयोजनको वातावरणीय प्रभाव मूल्यांकनका लागि क्षेत्र निर्धारण गर्ने काम भइरहेको छ । प्रस्तावित कालीगण्डकी जलाशययुक्त नेपालकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । अहिले आयोजन प्रभावित क्षेत्र, डुबान क्षेत्र, बाँध र विद्युतगृह निर्माण गर्ने क्षेत्र निर्धारणका लागि काम भइरहेको छ ।  बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कालीगण्डकी नदी थुनेर जलाशययुक्त आयोजना निर्माण गर्ने लक्ष्यका उक्त आयोजना अघि बढाइएको हो ।  बागलुङ जिल्लाको बागलुङ नगरपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयु गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका समेट्ने गरी उक्त आयोजनाको क्षेत्र निर्धारण गर्ने काम भइरहेको छ । आयोजनको निर्माण ७ देखि १० वर्षमा सम्पन्न गर्ने गरी अध्ययन भइरहेको छ । नेपालकै अन्य जलाशययुक्त जलविद्युत् आयोजनाभन्दा ठूलो, सस्तो र कम क्षति पुर्याउने उक्त आयोजना देशकै नमूना हुने बताइएको छ । आयोजना निर्माण गर्न पर्वत र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा बाँध र बाँधभन्दा झण्डै ४ किलोमिटर तल विद्युतगृह निर्माण गरिने प्रारम्भिक अध्ययनमा उल्लेख गरिएको छ । २५० मिटर अग्लो बाँध बनाएर कालीगण्डकी नदी थुन्ने योजना विभागले गरेको छ । उक्त आयोजनको निर्माण लागत ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्