बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुनः परीक्षणको काम हुदै

Machchapuchchre

अर्थ राजनीति  ~  बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । गत २९ असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । त्यसपछि पुनः सुरुङ परीक्षण थालिएको हो । सुरुङमा पानी भरिएपछि करिब १० दिन यतिकै राखिनेछ । त्यसपछि प्रतिसेकेन्ड २६० लिटरकै दरमा १५ देखि २० दिन लगाएर बाहिर पानी फालेर सुरुङ खाली गरिनेछ । पानी सबै फालिसकेपछि करिव ७ दिन लगाएर सुरुङको गुणस्तर पुनः परीक्षण गरिनेछ । केही समस्या देखिए त्यसलाई समाधान गरिने छ । यो सबै काम सकिएपछि फेरि पुरानै प्रक्रियाबाट नियमित रुपमा सुरुङमा पानी भर्न थालिने छ । यो पानी सुन्दरीजलमा तयार रहेका २ वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाइने छ । सबै अवस्था सामान्य हुँदा मेलम्चीको पानी मुख्य वितरण लाइनमा पठाउने काम थाल्न दुईदेखि तीन महिना लाग्ने अनुमान गरिएको छ । ठेकदार र आयोजनाले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्यतालिका अनुसार काम भएमा २०७८ वैशाख २ गते (१५ अप्रिल २०२१) सम्म मेलम्ची आयोजनाको काम सकिनेछ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्