लकडाउनपछि इन्टरनेट प्रयोगकर्ता ह्वात्तै बढे

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र गत चैतदेखि कात्तिकसम्म मात्र २० लाख ६८ हजार इन्टरनेट प्रयोगकर्ता  थपिएका प्राधिकरणले जनाएको छ। लकडाउनअघि २ करोड १८ लाख ५२ हजार इन्टरनेट सब्स्क्राइबर रहेकामा अहिले २ करोड ३९ लाख २१ हजार पुगेका छन् । तारसहितको इन्टरनेट प्रयोग गर्नेको संख्या ८ महिनाको अवधिमा १० लाख ३७ हजार बढेको प्राधिकरणको तथ्यांक छ । फिक्स लाइन इन्टरनेट ग्राहकको संख्या यति छोटो अवधिमा १० लाखभन्दा बढी थपिएको यो पहिलोपटक नै  हो । विभिन्न इन्टरनेट सेवा प्रदायकहरुका अनुसार यो अवधिमा ‘फाइबर टु दि होम’ प्रयोगकर्ता ह्वात्तै बढेको देखिएको छ ।  बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ग्राहक संख्या विस्तार गरेको तथ्यांकले देखाएको छ । फिक्स्ड लाइनतर्फ ‘वायरलेस’ इन्टरनेट प्रयोगकर्ता भने लकडाउनमा दुई हजार मात्र बढेका छन् । लकडाउनअघि रेडियो वाइफाइ र वाइम्याक्सबाट ताररहित इन्टरनेट सेवा लिनको संख्या २ लाख २४ हजार रहेकोमा अहिले २ लाख २६ हजार पुगेको देखिन्छ भने  मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । ८ महिनाको अवधिमा मोबाइल ब्रोडब्यान्ड प्रयोग गर्नेको संख्या १० लाखभन्दा माथि उक्लिएको प्राधिकरणको  तथ्यांक छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्