अहिले सम्म उपत्यका सुरक्षित

Machchapuchchre

अर्थ राजनीति – सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ  । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ  । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन ।
काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना नियन्त्रणमा आएको स्पष्ट पारेको छ । स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले उच्च सतर्कता अपनाएकाले कोरोना सङ्क्रमण फैलिन नपाएको हो  । गत दुई हप्ताअघि कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं. ९ स्थित सनसिटी अपार्टमेन्टका दुई जनाको पीसीआर पोजेटिभ देखिएको थियो । तर दुवै जना अहिले उपचारपछि घर फर्किसकेका छन् ।

काठमाडौँका ११ वटा स्थानीय तहमा कुल दुई हजार २२६ जनाको आरडीटी परीक्षण गरिएकोमा दुई हजार २२२ जनाको रिपोर्ट नेगेटिभ आएको छ  । कागेश्वरी मनोहरा नगरपालिकामा तीन जनाको आरडीटी पोजेटिभ र बूढानीलकण्ठ नगरपालिकामा एक जनाको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ र पीसीआर नेगेटिभ आएको हो । यहाँका ११ वटै स्थानीय तहले गत फागुन ३० देखि विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिको समेत आरडीटी परीक्षण गरेको काठमाडौँ जिल्ला समन्वय समितिले जनाएको छ  ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयले सबै जिल्लामा सीएमसी गठन गरी जिल्लाभित्रका स्थानीय तहललाई कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन आवश्यक कार्यको सहजीकरण गर्न निर्देशन गरेको थियो । सोही निर्देशनअनुसार जिसस, जिल्ला प्रशासन कार्यालय, नगरपालिका, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारीलगायत नौ जनाको सल्लाकार समिति गठन गरी कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्य गरिएको जिससले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्