काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दक्षिण कोरियामा रहेका नेपालीहरूलाई कोरोनाभाइरस संक्रमणको जोखिमबाट सतर्क रहन आग्रह गरेका छन्। सोमबार पत्राचार गर्दै सभापति देउवाले नेपालीको सुरक्षामा उच्च सतर्कताका लागि जनसम्पर्क समिति र कोरियामा रहेका नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै एकतावद्ध ढंगले आवश्यक समन्वय गर्न अपिल गरेका हुन्।
‘केही दिन यता दक्षिण कोरियामा समेत कोरोना भाइरसबाट सयौं संक्रमित र केहीको मृत्युसमेत भइसकेको विवरण संचार माध्यमबाट थाहा पाउँदा त्यहाँ रहेका समस्त नेपालीको सुरक्षा संवेदनशीलताप्रति हाम्रो चासो बढेको छ,’ देउवाले पठाएको पत्रमा भनिएको छ। देउवाले नेपाल सरकार र नेपाली दूतावासमार्फत हुन सक्ने आवश्यक सजगताबारे घच्घच्याइ रहेको पनि बताएका छन्।
‘संक्रमण फैलिएको थेगु शहरमा रहेका नेपालीलाई तत्कालै युद्धस्तरमा सतर्क गराउन र कोरियाको अन्य शहरमा पनि विभिन्न पेशा र व्यवसायमा संलग्न, अध्ययनरत विद्यार्थी एवं श्रममा संलग्न सम्पूर्ण नेपाली बीच आवश्यक सम्पर्क, सूचना सम्प्रेषण र सतर्कताका लागि अपिल गर्दछु,’ देउवाले पठाएको पत्रबारे विज्ञप्ति निकालेर कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले उल्लेख गरेका छन्।
नेपाली जनसम्पर्क समितिको भूमिका अझ बढी प्रभावकारी बनाउन पनि देउवाले आग्रह गरेका छन्। ‘कोरियामा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गर्दछु,’ सभापति देउवाले पठाएको पत्रमा भनिएको छ।

 
			

 
					
 
                             
							 
                             
                             
                             
                            