काठमाडौंमा तार भूमिगत बनाउने कामकाे उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने – अब शहर कुरुप हुँदैन

Machchapuchchre Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको नयाँ अध्याय शुरु भएको उद्घोष गरेका छन । काठमाडौंबाट सुरु गरिएको विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शहरी सौन्दर्यता अभिबृद्धिमा सरकार अघि बढेको जानकारी दिए । तार भूमिगत गर्ने कामले आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने उनको बिश्वास छ।

‘यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरी गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘विद्युत्, टेलिफोन लगायत तार भूमिगत गर्ने काम काठमाडौंको महाराजगञ्जबाट शुरु भए पनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने छ।’

सोहि क्रममा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरे। लामो समयदेखि सञ्चारमाध्यमको भूमिका र सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार फेरि त्यसलाई दोहोर्‍याएका हुन् ।

द्‌घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्‍चारमाध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने बताए। आफूले भनेको विषयलाई हुबहु नराखेर तोडमोड गरी अर्नगल प्रचार गर्ने गरिएको दुखेसो पनि प्रधानमन्त्री ओलीले पोखे।

‘कुनै कुनै सञ्‍चारमाध्यमले यो न्यूज दिनुभन्दा बाँसुरी बजाएको न्यूज दिन्छन् भोलि पनि। दया लाग्छ। देश विकास हुन लाग्दा पिर किन परेको त्यो छक्क लाग्छ। कुनै कुनै भन्ने शब्द प्रयोग गर्‍याछु। कुनै कुनै भन्ने शब्द बिर्सन्छन् अनि यसो भन्यो भनेर कुनै कुनै शब्द काटेर पठाउँछन्। भोलि पनि हेर्नुहोला बाँसुरी बजाएको फोटो छाप्छन्। यो फोटै छाप्दैनन्,’ प्रधानमन्त्री ओलीले भने। उनले बुद्धिजिवीको बौद्धिकता देख्दा दया लाग्ने गरेको बताए।

सरकार देश विकासमा अघि बढिरहेका बेला सहकार्य गर्नुको सट्टा केहीले मजाकको विषय बनाउने गरेको गुनासो पनि उनले गरे। आफूले तुइन विस्थापित गर्छु भन्दै प्रगति पेस गर्दै गर्दा सञ्चारमाध्यमले दार्चुला पुगेर भए पनि तुइनको फोटो खिचेर छाप्ने गरेको गुनासो पनि उनले गरे।

‘मैले देखेँ, एक जना बुद्धिजीवीले नधम्क्याउनुहोस् प्लिज भनेर भनेको, मैले धम्क्याएरै हैरान पारो अरे। अनि मलाई चाहिँ यो बौद्धिकता देख्दा दया लाग्छ। देश विकास मजाक होइन। देश विकास आग्रह पूर्वाग्रहको विषय होइन। देश विकास साझा अभिभारा हो। साझा कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी विकास गरिरहेका छौं भने खुसी हुनुपर्ने। तुइन विस्थापित भएकोमा रुवाबासी छ कतिको। अचम्म लाग्छ। दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । दुई वटा तुइन विस्थापित गर्न बाँकी छ त्यहाँ। कति दुःख गर्‍या होला? कठैबरी।’

उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना अन्तरगत पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्