नेकपा नेता माइला लामा र पूर्व केन्द्रिय सदस्य लोहनीसहित ५ जना पुनः अदालत परिसरबाटै गिरफ्तार

Machchapuchchre

चितवन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामासहित चार नेतालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । आइतबार जिल्ला अदालत सुनसरीले साधारण तारेखमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले लामासँगै केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्यय र दिपेश राईलाई पुनः गिरफ्तार गरेको हो । जिल्ला न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो । उनीहरुलाई प्रहरीले हात हतियार तथा संगठित अपराध मुद्धा लगाएको थियो ।

पुनः गिरफ्तार हुनअघि केन्द्रीय सदस्य लामाले आफूहरुले राष्ट्रियता, जनजीविकाको पक्षमा आवाज उठाएकै कारण ओली नेतृत्वको सरकारले हतकडी लगाएर जेल हालेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड विगतका राणा-पञ्चहरुले जस्तै जनताको हक अधिकारको कुरा गर्दा जेल र हतकडी लगाउन अग्रसर भएको आरोप लगाए । जनताको पक्षमा उठेको आवाजलाई जेल र हिरासतमा कैद गर्न नसकिने माइला लामाले भने ।

लामा, बिक र उपाध्ययलाई पाटन उच्च अदालतले रिहा गर्न आदेश दिएपछि पुनः गिरफ्तार गरेर प्रहरीले सुनसरी पुर्‍याएको थियो । लामा र राईलाई स‌ंखुवासभा र बिक र उपाध्यायलाई कालिकोट लिने तयारी भइरहेको पारिवारले जनाएका छन् । उनीहरुसगै राखिएका रमेश कार्की अदालतको आदेशमा रिहा भएका छन् ।

यस्तै अभद्र व्यवहारसम्बन्धी मुद्धा चितवन अदालतले खारेज गरेसँगै छुटेका नेपाल कम्युनिष्ट पार्टीका पूर्वनेता गुणराज लोहनीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । आइतबार चितवन जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले लोहनीमाथि लगाइएको अभद्र व्यवहारको मुद्धा खारेज गर्ने फैसला सुनाएको थियो ।

तर अदालत परिसरबाटै प्रहरीले लोहनीलाईगिरफ्तार गरी हेटौंडा पुर्‍याएको छ । पूर्वशिक्षक समेत रहेका लोहनी केही महिना अघिसम्म उनी केन्द्रीय सदस्य थिए । तर स्वास्थ्यमा समस्या आएपछि पार्टीबाट विदा लिएका थिए । तर प्रहरीले उनलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरको मुद्दा चलाएको थियो । यसअघि कात्तिक ५ गते पक्राउ परेका लोहनी १३ दिन हिरासतमा बसेर जिल्ला प्रशासन कार्यालयबाट पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्