Artharajniti ~ दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन प्रसादस्वरुप उपहार प्रदान गरेका छन् । सोमबार भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विशेष बाकसमा रुद्राक्षको माला उपहार दिएका हुन् । साथै, पशुपतिनाथको मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर हस्तान्तरण गरेका छन् । त्यसक्रममा मोदीले बालेनलाई विशेष घडामा गंगाजल उपहार प्रदान गरे । लगत्तै मोदी–बालेनसहित दुईपक्षीय भेटवार्ता सुरु भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पहिलो औपचारिक द्विपक्षीय वार्ता सुरू भएको छ। सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच औपचारिक वार्ता सुरू भएको हो।वार्ता सुरू हुनुअघि प्रधानमन्त्री मोदीले हैदराबाद हाउस परिसरमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यस क्रममा मोदीले शाहसँग अंकमाल गरेका थिए। दुई प्रधानमन्त्रीबीचको वार्तामा नेपाल र भारतबीचको आपसी सम्बन्ध, व्यापार, ऊर्जा तथा कनेक्टिभिटीलगायत विषयमा छलफल हुने कार्यक्रम छ। विशेषगरी भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन र भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण लगायत विषयमा छलफल गर्ने तयारी छ। द्विपक्षीय वार्तापछि प्रधानमन्त्री शाह र मोदीले विभिन्न परियोजनाको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। त्यस क्रममा दुई देशबीच विभिन्न समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान हुनेछन्। त्यसपछि संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले आजै प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। त्यसपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ। दुईदिने भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह आजै स्वदेश फर्कनेछन्।



