Artharajniti ~ वित्तीय कारोबार प्रविधिमा आधारित भएसँगै बढेको साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक, प्रहरी, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा दूरसञ्चार सेवा प्रदायक एकै स्थानमा आएका छन् ।
दैनिक २ सयदेखि ३ सयसम्म ठगीका उजुरी आउन थालेपछि नेपाल प्रहरीको पहलमा सरोकारवाला सबैले एउटै स्थानबाट काम गर्ने संयन्त्र विकास गरेका हुन् । नेपाल प्रहरीका अनुसार साइबर ठगीमा परेर गुमाएको रकम रोक्का तथा फिर्ता गर्न प्रक्रियागत झन्झट र धेरै समय लाग्ने अवस्था छ । कुनै व्यक्ति साइबर ठगी वा स्क्याममा परेको थाहा पाएर उजुरी गर्दा स्क्यामरले पैसा अन्य बैंकमा ट्रान्स्फर गरेर झिकिसक्ने अवस्था छ । साइबर ठगहरूले कुनै एक व्यक्तिको मोबाइल बैंकिङ ह्याक गरेभन्दा पनि विभिन्न बैंकका खातामा रकम ट्रान्स्फर गरेर झिक्ने गरेका छन् । त्यसका लागि खाता भएको बैंकमा उजुरी गरेर प्रहरीको साइबर ब्युरोमा निवेदन दिई सोही आधारमा रकम ट्रान्स्फर भएका बैंकहरूमा रकम रोक्का राख्न निवेदन दिनुपर्छ ।
यो प्रक्रिया पूरा गर्दा निकै ढिला हुने भएकाले त्यसलाई सम्बोधन गर्न नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीकै पहलमा सबै निकाय एकै ठाउँबाट काम गर्ने संयन्त्र विकास गरिएको नेपाल प्रहरी साइबर ब्युरो प्रवक्ता दीपकराज अवस्थीले बताए । ‘नेपाल प्रहरीको पहलमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, ठूला भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक एक भएर काम गर्ने एन्टिस्क्याम सेन्टर स्थापनाको प्रक्रिया अघि बढाइएको हो,’ अवस्थीले भने, ‘यस्तो संयन्त्र साइबर ब्युरोबाट पनि अलग भएर काम गर्ने गरी विकास गर्न लागिएको हो, गृह मन्त्रालयले प्रस्ताव स्वीकृत गरिसकेको छ । अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको खण्डमा एक महिनाभित्र संयन्त्रले काम नै सुरु गर्ने छ ।’
उनका अनुसार अन्य संस्थासँग पनि सम्पर्कमा रहने व्यवस्था हुन्छ । हटलाइनसँगै सम्बन्धित संस्थाका फोकल प्वाइन्ट अर्थात् सम्पर्क व्यक्ति वा नम्बर राखिने छ । आवश्यक पर्दा उनीहरूसँग तत्काल सम्पर्क गरेर समन्वय गरिने छ ।



