Artharajniti ~ नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन्। बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गरे। पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उनको भनाइ छ। देउवाले पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन बोलाइएको स्मरण गरे। त्यतिबेला पार्टी एकताबद्ध रहेको र खुला रूपमा सदस्यता तथा प्रतिनिधिको पहिचान गरी विशेष महाधिवेशन गरिएको उनको भनाइ छ। गगन थापाले विशेष महाधिवेशन बोलाउने कुरा गरेपछि आफूले विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीलाई रहेको तर त्यसअघि को–को सदस्य हुन् भन्ने विषयमा सनाखत हुनुपर्ने बताएको स्मरण गराए। देउवाले आफू पार्टी सभापति रहेको अवस्थामा विशेष महाधिवेशन बोलाउने विधि आफूलाई थाहा नभएको र गगन थापालाई मात्रै थाहा भएजस्तो गरी अघि बढेर महाधिवेशन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले अदालतले पु्नरावलोकन गर्ने निर्णय गरेर कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको दावी गरे। पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा पनि आफूहरूले मुद्दा जितेको र राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्ने अवस्थामा समेत अदालतबाट न्याय पाएको देउवाले स्मरण गरे। अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्चले निष्पक्ष न्याय दिनेमा आफ्नो विश्वास कायम रहेको देउवाको भनाइ छ। अन्ततः नेपाली काँग्रेसले रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत व्यक्त गरे।
“रुख र चारतारे झण्डा हामीले पाउँछौँ ” : पूर्वप्रधानमन्त्री देउवा



