Artharajniti ~ नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र पारित नीतिप्रति असहमति जनाउँदै समानान्तर गतिविधि सञ्चालन गर्दै आएको इतर समूहले आसन्न राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेको छ। समितिको संयोजकमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (विपी) कोइरालाका पुत्र डा. शशांक कोइरालालाई चयन गरिएको छ। पार्टीभित्र लामो समयदेखि एकताको प्रयास भए पनि संस्थापन पक्षबाट तदनुसारको राजनीतिक पहल नदेखिएको निष्कर्ष निकाल्दै राष्ट्रिय भेलातर्फ अघि बढ्नुपरेकाे इतर समूहले जनाएको छ। यस समूहका नेताहरूका अनुसार पार्टीभित्र देखिएको असन्तुष्टि, अन्योल र कार्यकर्ता पंक्तिमा बढ्दो निराशालाई सम्बोधन गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो। समिति घोषणापछि पत्रकार सम्मेलनमा बोल्दै संयोजक शशांक कोइरालाले पार्टीभित्र सहमतिका लागि आफूहरूले निरन्तर प्रयास गरे पनि त्यसले सार्थकता नपाएको बताए। उनले भने, ‘अनवरत प्रयास, धैर्य र पहल गर्दा पनि पदीय जिम्मेवारीमा रहेका नेताहरूबाट सार्थक भूमिका नदेखिएपछि नेता कार्यकर्ता, जनप्रतिनिधि, शुभेच्छुक तथा समर्थकहरूमा देखिएको निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला गर्न बाध्य भएका छौँ।’
इतर समूहले राष्ट्रिय भेलाको तयारीलाई व्यवस्थित बनाउन १६ वटा विभिन्न उपसमिति पनि गठन गर्ने निर्णय गरेको छ। राजनीतिक प्रस्ताव, समसामयिक राजनीतिक प्रस्ताव, सांगठनिक तयारी, विधान संशोधन मस्यौदा, आर्थिक नीति, प्रचार–प्रसारलगायतका विषय समेट्ने गरी उपसमिति बनाइने जनाइएको छ। ती उपसमितिका संयोजकहरू आगामी बैठकबाट टुंगो लगाउने तयारी गरिएको छ। इतर समूहको राष्ट्रिय भेला यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना हुँदै छ। उक्त अवधिसम्म पार्टीभित्र कुनै ठोस राजनीतिक सहमति नभए नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी समेत इतर समूहको छ। पूर्वसभापति शेरबहादुर देउवाको समर्थन रहेको इतर समूहले यसअघि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा समानान्तर राजनीतिक कार्यक्रम सञ्चालन गर्दै आएको थियो। समूहभित्र पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत प्रभावशाली नेताहरू रहेकाले छुट्टै दल गठन भए नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्योल देखिएको थियो। यसैबीच राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइरालालाई अघि सारिएपछि सम्भावित नयाँ राजनीतिक यात्राको नेतृत्व पनि उनैले गर्ने संकेतका रूपमा यसलाई हेरिएको छ।



