Artharajniti ~ सात वर्षअघि निर्माण सुरू भएको नेपालकै पहिलो आधुनिक सुरूङ मार्ग ‘नागढुंगा-सिस्ने खोला सुरूङ मार्ग’ सोमबार उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौंको दहचोकदेखि धादिङको सिस्नेखोला जोडिने यो सुरूङ मार्ग उद्घाटन गरेका हुन्। काठमाडौंस्थित जापानी राजदूत मायदा तोरू, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा उक्त सुरूङ मार्ग उद्घाटन भएको हो। सुरूङमार्ग सात वर्षअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। २०८१ वैशाख ३ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सुरूङ मार्गको ब्रेकथ्रु भएको थियो। सुरूङ मार्गको लम्बाइ २,६८८ मिटर छ। यो आयोजना निर्माण अप्रिल २०२३ भित्र सक्ने गरी सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच सम्झौता भएको थियो। तर कोभिड महामारी, विभिन्न प्राविधिक समस्या, स्थानीयको अवरोध लगायत कारण निर्माणमा ढिलाइ हुँदा सोमबारदेखि सञ्चालन आएको छ। पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन र अन्य अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश दिइनेछ। केही दिन सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापन परीक्षण गरेर अन्य सवारी साधनलाई सञ्चालन हुन दिइने बताइएको छ। परीक्षण अवधिभर सुरूङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन।
नागढुंगा-सिस्ने खोला सुरूङ मार्ग उद्घाटन



