” विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने ” : शिक्षामन्त्री पोखरेल

Machchapuchchre Bank

Artharajniti  ~ शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उनले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका हुन्। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहेका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने स्पष्ट पारे। विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अन्त्य हुने उनले जिकिर गरे। मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। आफ्नै दल वा अन्य कुनै पनि राजनीतिक दलबाट आउने अनुचित दबाबलाई रोक्न र विश्वविद्यालयको स्वायत्तता जोगाउन सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने उनले बताए। कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गरिने बताए। ‘अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसीको आधारमा निर्माण हुनेछ’ उनले भने, ‘विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन। कसैलाई कहाँ राख्ने, सरुवा गर्ने, बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन्।’ राजनीतिक दबाब आए मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्दै उनले थपे, ‘यदि कुनै पनि प्रकारको राजनीतिक दबाब आयो भने शिक्षा मन्त्रालयलाई तुरुन्त जानकारी गराइदिनुहोस्। हामी विश्वविद्यालयलाई मेरिटोक्रेसीका आधारमा अघि बढाउने प्रतिबद्धतासहित काम गर्नेछौँ।’ आफ्नो पार्टी वा अन्य कुनै पनि पार्टीबाट दबाब आएमा त्यसको प्रतिरोध गर्न सधैँ तयार रहने बताउँदै मन्त्री पोखरेलले विश्वविद्यालयमा हुने सबै निर्णय योग्यताका आधारमा हुने प्रतिबद्धता जनाए। उनले विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता समेत दोहोर्‍याए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्