Artharajniti ~ परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा छन् । मन्त्री खनालले यसबीचमा समकक्षी वाङ यीदेखि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूसँग पनि संवाद गरेका छन् । विदेशमन्त्री वाङ यीसँग झण्डै २ घण्टा संवाद गरेका खनालले बदलिएको नेपालको राजनीतिक सन्दर्भ मात्र होइन, अहिलेको सरकारका प्राथमिकता पनि प्रस्टसँग राखेका छन् । नेपालका अपेक्षा र प्राथमिकता प्रस्टसँग राखेका खनालसँग चिनियाँ पक्षले पनि आफ्नो अपेक्षाहरू बताएको छ । चिनियाँ विदेशमन्त्री यीले खनालसँग भेटमा परिवर्तित सरकारसँग सहकार्यमा समस्या नरहेको सन्देश मात्र दिएका छैनन्, भूराजनीतिक सन्दर्भलाई पनि जोडेका छन् । नेपालमा बढ्दो भूराजनीतिक प्रभाव आफूहरूको नोटिसमा रहेको संकेत पनि मन्त्री खनाललाई दिएको छ । खनाल–वाङ यीबीचको भेटपछि जारी भएका विज्ञप्तिहरूले त्यही संकेत गरेका छन् । पछिल्ला दिनमा चीन नेपालमा बढ्दो अमेरिकी अधिकारीको भ्रमणबाट सशंकित देखिन्छ । त्यसको संकेत वाङ यीले खनालसमक्ष राखेको देखिन्छ । अनि, अमेरिकी अधिकारीको भ्रमण बढ्नेसँग तिब्बतविरुद्ध गतिविधि बढ्ने डर पनि चीनको देखिन्छ । त्यति मात्र होइन, अहिलेको सरकारले चीनसँगको पुरानो नीति परिवर्तन गर्न सक्ने आशंका पनि व्यक्त गर्ने गरेको थियो । ती सबै आशंकालाई परराष्ट्रमन्त्री खनालले चिर्ने प्रयास गरेको देखिन्छ । एक चीनको सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्याएर खनालले विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । त्यति मात्र होइन, नेपालमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धतामा जोड दिएका छन् । चीन अहिलेको सरकारसँग सहकार्य गर्न सहमत रहेको सन्देश पनि खनाले मात्र दिएर विकासमा साझेदारी गर्न सहमति जनाएको देखिन्छ । त्यसैले हुन सक्छ, कनेक्टिभीटी, ऊर्जा, पर्यटन, प्रविधि मात्र होइन, रासायनिक मल र पेट्रोलियम पदार्थ उत्खननमा सहयोग गर्न पनि राजी भएको छ । यसले परराष्ट्रमन्त्री खनालले शालीनतापूर्वक सरकारका प्राथमिकता मात्र बताएनन्, चिनियाँलाई विश्वासमा लिने परिपक्क कूटनीतिक कौशल प्रदर्शन गरेको विश्लेषण पनि हुन थालेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा



