करका दर हेरफेर विवाद : अर्थमन्त्रीले दिए कर्मचारीलाई दोष

Machchapuchchre Bank

Artharajniti  ~  करका दर हेरफेर विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीलाई दोष देखाएका छन् । कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको उनको भनाइ छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको विहीबारको बैठकमा बोल्दै उनले त्रुटि हुन पुगेको स्वीकार गरे । १५ गते संसद्मा पेश गरेको आर्थिक विधेयकमा रहेकोमा एक ठाउँमा करका दर हेरफेर भएको र एक ठाउँमा शुल्क हेरफेर गरिएको पनि उनले स्वीकार गरे । ‘अर्थमन्त्रीले टाइप गरेर बिगारेको होइन । तर म नेता हो, अर्थ मन्त्रालयको म गार्डियन हो । मेरा कर्मचारीले गरेको मिस्टेकलाई मैले वन (अपनत्व) गर्नुपर्छ, मैले डिफेन्स गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले अगाडि भनेका छन्, ‘मैले मिस्टेक गरेको होइन । कर्मचारी साथीहरूले बिहान ४ बजे टाइप गर्दा केही कुराहरू छुटे ।’ कर्मचारीले यति मिस्टेक भयो भनेर भनेपछि त्यसअनुसार जेठ १७ गते आफूले संघीय संसद् सचिवालयलाई निवेदन लेखेर त्रुटि सुधारका लागि पठाएको पनि अर्थमन्त्री वाग्लेले बताए । अर्थमन्त्री डा. वाग्लेले संघीय संसदका दुवै सदनमा जेठ १५ गते आर्थिक विधेयक पेश गरेका थिए । उक्त विधेयकमा केही अस्पष्टता र केही भाषिक त्रुटि रहेको भन्दै जेठ १७ गते उक्त त्रुटिहरू सच्याउन संससद् सचिवालयमा निवेदन दिएका थिए ।

जेठ १७ गते यता आर्थिक विकेयकमा कुनै पनि विषय संशोधन नगरिएको पनि अर्थमन्त्री वाग्लेले बताए । अर्थमन्त्रालयकै कर्मचारीले गरेको गल्तीको अपनत्व लिएको र त्यसअनुसार आफूले डिफेन्स गरेको भनेर आफूलाई विवादबाट बाहिर राख्ने प्रयास अर्थमन्त्री वाग्लेले गरेका हुन् । बुधबारको अर्थ समितिको बैठकमा मन्त्री वाग्लेले आफूमाथिको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहलाई पनि जोडेका थिए । आफूले ल्याएको बजेट ऐतिहासिक भएको जिकिर गर्दै अर्थमन्त्री वाग्लेले समाजमा भ्रम सिर्जना हुने गरी करका दर हेरफेर भएको भनिएको दाबी गरे । मन्त्री वाग्लेले भनेका थिए, ‘रास्वपाको म्यान्डडेटबाट अझै पचिसकेको छैन एउटा ठूलो वर्गलाई । कसरी हुन्छ लाञ्छित गर्ने, प्रधानमन्त्रीलाई विवादित बनाउने, प्रधानमन्त्रीपछि अर्थमन्त्रीलाई बनाउने, यत्ति हो ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्