Artharajniti ~ शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज बस्दै छ ।पहिलोपटक कैलालीको गेटामा बैठक बस्न लागेको हो । यसअघिका तीन विश्वविद्यालयसभा (सिनेट)को बैठक संघीय राजधानीमा भएकोमा पहिलोपटक विश्वविद्यालय रहेकै स्थानमा बैठक बस्न लागेको हो । बैठकका लागि सभा अध्यक्षसमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल मंगलबार नै कैलाली आइसकेका छन् ।विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा सभा गठन गरिएको छ । सभाको अध्यक्ष विश्वविद्यालयका सह–कुलपतिसमेत रहेका शिक्षामन्त्री हुने व्यवस्था छ । यस्तै, सह–कुलपति नै रहेका स्वास्थ्यमन्त्री सभामा सदस्य छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति, गोदावरी नगरपालिकाका प्रमुखलगायत विश्वविद्यालयसभामा सदस्य रहने ऐनमा व्यवस्था छ । विश्वविद्यालयको कुलपति भने प्रधानमन्त्री रहने व्यवस्था छ ।विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापनको तयारी भइरहेको छ । आगामी शैक्षिक सत्रदेखि विश्वविद्यालयमा एमबीबीएस, नर्सिङ, बीएस्सी एमएलटी, बी अप्टोमेटरी अध्यापन सुरु हुने बताइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ । आर्थिक वर्ष २०८२/८३ को जेठ र असारका लागि चिकित्सकहरूको तलबबापत पाँच करोड बजेट प्राप्त भएको छ भने आगामी वर्षका लागि माग गरिएको २ अर्ब ५३ करोड बजेटसमेत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पेस भएको छ ।
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक पहिलोपटक गेटामा बस्दै



