Artharajniti ~ नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा फैलिएको त्रास अनावश्यक रहेको बताएका छन्। उनले सरकारले साना लगानीकर्तामाथि कुनै धरपकड अभियान नचलाएको स्पष्ट पार्दै बजारमा आतंक फैलाउने काम भइरहेको बताए। उनका अनुसार सरकारले साना लगानीकर्तामाथि कारबाही गर्ने कुनै उद्देश्य राखेको छैन। सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र पारदर्शी रहेको उल्लेख गर्दै उनले पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधैं खातामा जम्मा हुने व्यवस्था र कर प्रणाली स्पष्ट भएकाले यो क्षेत्र विश्वसनीय रहेको बताए। अर्थमन्त्री वाग्लेले सेयर बजारलाई डिजिटलाइजेसनको नमूना क्षेत्रका रूपमा लिइएको जानकारी दिए। ‘स्टक मार्केटमा आएर सम्पत्ति कहाँबाट ल्यायौ? भनेर सोध्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले कुनै धरपकड नीति लिएको छैन।’ यद्यपि, इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधिमा संलग्न पाइए कानुनअनुसार कारबाही हुने उनले स्पष्ट पारे। लगानीकर्तालाई प्यानिक नहुन आग्रह गर्दै आगामी दिनमा बजार सुधारका लागि काम गरिने बताए। नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने पनि उनले जानकारी दिए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रमा समेटिएका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै सेयर बजारप्रति सरकार उदार रहेको दाबी गरे।बजार घटेको अवस्थामा अत्तालिनु नपर्ने उल्लेख गर्दै उनले ‘सुनौला दिन आउँदैछन्’ भन्दै लगानीकर्तालाई धैर्य गर्न आग्रह गरे।छलफलमा उनले सरकारले दीर्घकालीन रूपमा काम गर्ने भएकाले छोटो अवधिको उतारचढावलाई ठूलो रूपमा नलिन पनि सुझाए।अन्य विषयमा उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु पहिलो प्राथमिकता भएको बताए।ग्रे लिस्टका कारण अन्तर्राष्ट्रिय छवि र लगानी वातावरणमा नकारात्मक असर परेको उल्लेख गर्दै उनले अब कागजी प्रक्रिया मात्र नभई कार्यान्वयन चरणमा प्रवेश गरिएको बताए।सम्पत्ति शुद्धीकरण लगायत वित्तीय अपराधका मुद्दाहरू प्रमाणका आधारमा अघि बढाइने स्पष्ट पार्दै उनले ह्वाइट कलर अपराधमा आर्थिक जरिवानालाई प्राथमिकता दिइने बताए।’कसैलाई लक्षित गरेर कारबाही गर्ने होइन, कानुनअनुसार अघि बढाउने मात्र हो,’ उनले भने।सरकारले खुला बजार अर्थनीति अपनाएको तर छाडा अर्थतन्त्र नमान्ने उल्लेख गर्दै उनले निजी क्षेत्रलाई अनावश्यक दुःख दिने नियत नरहेको पनि स्पष्ट पारे।



