नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

Machchapuchchre Bank

Artharajniti  ~  पृथ्वी राजमार्गको पहिरो पन्छाउन अझै पाँच घन्टा लाग्ने सम्भावना रहेको नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जानकारी दिएको छ।बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा सोमबार मध्यराति सुख्खा पहिरो खसेको थियो। बिहानपख पहिरो पन्छाएर बाटो एकतर्फी तुल्याउन खोजे पनि पुनः ठूलो पहिरो खसेको थियो।‘अहिले चारवटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने प्रयास गरिरहेका छौं। थप पहिरो नखसे पाँच घन्टासम्ममा पन्छाइसकिने साइट खटिएका कर्मचारीहरूले जानकारी दिनुभएको छ,’ इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिए।उनका अनुसार जवाङ खोलाको नयाँ पहिरो हो। निरन्तर पहिरो झरिरहेकाले थप चुनौतीपूर्ण बनेको उनले बताए।‘मध्यराति नै पहिरो खसेकाले यात्रुवाहक सवारी साधन रोकिएका छन्, हुन त धादिङबेसी, आरूघाट हुँदै मध्यपहाडी र शक्तिखोर निस्कने चेपाङ मार्ग पनि वैकल्पिक सडक छ तर ठूला गाडीलाई घुम्ती नपुग्ने हुँदा समस्या छ भन्ने पनि सुनेका छौं,’ उनले भने, ‘यात्रुको चापलाई मध्यनजर राख्दै पहिरो पन्छाउने प्रयास भइरहेको छ।’इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले तुइन खोला र जवाङमा दुवैतर्फको अवरोधले आवागमन अस्तव्यस्त बनेको बताए। ट्राफिक प्रहरी परिचालन गरी लेन व्यवस्थित बनाउने र साना सवारी डाइभर्ट गराउने काम पनि भइरहेको बताए।

‘बीचबीचबाट डाइभर्ट त गरिरहेका छौं। तर कतिपय ठूला सवारी साधन लेनमा नभएकाले पनि समस्या भइरहेको छ,’ उनले भने। उनले तुइन खोलाको पहिरो पनि समस्याग्रस्त रहेको बताए। शुक्रबार साँझदेखि नै त्यहाँ निरन्तर पहिरो झरिरहेको छ। शुक्रबारदेखि आइतबारसम्म ४० घन्टा यातायात रोकिएकामा सोमबार पनि समस्या दिएको थियो।
‘त्यहाँ साना–ठूला ढुंगा झरिरहेका छन्। अहिलेसम्म मानवीय क्षति भएको छैन। तर असाध्यै जोखिमपूर्ण बनेको छ। कतिबेला ढुंगा खस्ने हो, यकिन गर्न सकिँदैन। त्यसैले हामीले सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न भनिरहेका छौं,’ उनले भने।आफूहरूले सडक विभागसहित सरोकारवाला निकायलाई पनि आग्रह गरिसकेको बताउँदै यात्रुहरूलाई पनि सुरक्षित यात्रा गर्न भनेका छन्।जवाङ र तुइन खोलाको पहिरोले दसैंमा घर हिँडेका र काठमाडौंतर्फ आइरहेका यात्रु समस्यामा परेका छन्। काठमाडौंबाट छुटेका रात्रीबससमेत नागढुंगा–मुग्लिनको जाममा छन्। ठूला बसहरूले वैकल्पिक बाटो प्रयोग गर्न नसक्ने हुँदा पनि यात्रुहरू अलपत्र पर्ने अवस्था देखिएको छ।पृथ्वीराजमार्गको धादिङस्थित फुर्केखोलाबाट सल्यानटार हुँदै गोरखाको आरूघाट निस्केर तनहुँको आँबुखैरेनीमा पुन: पृथ्वी राजमार्गमा जोड्ने वैकल्पिक बाटो पनि छ। माइक्रोलगायत गाडी केही दिनदेखि यो सडकखण्ड भएर चल्न पनि थालेका छन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्