Artharajniti ~ नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता स्वार्थको ‘अराजनीतिक अभ्यास’ले विचारधारा नै विसर्जन भएको छ । संविधान संशोधनका माध्यमबाट राजनीतिक स्थिरता दिने बताएर संसद्का दुई ठूला दल ‘कांग्रेस–एमाले’ सम्मिलित सरकार बनाए ।विचारधारा बीच पटक्कै मेल नखाने यी दुई दलको सत्ता निर्माणको मूल ध्येय केवल ‘सत्ता स्वार्थ’ले मात्र काम गरेको थियो । कांग्रेसकै बारे टिप्पणी गर्नु पर्दा भन्नै पर्ने हुन्छ– ‘कांग्रेस भित्र जोसँग विचार छ, ऊ पार्टीमा प्रभावकारी भूमिकामा छैन, सँगै जो पार्टीमा प्रभावकारी भूमिकामा छ, उसको ‘विचार र नैतिकता’सँग भेट नै हुँदैन ।’ यही बेमेलकारी यथास्थिति र परिवर्तनकारी पक्ष बीचको रस्साकस्सीमै दिन कटाउँदैछ– कांग्रेस । लामो समय कांग्रेसको राजनीति गरेर इतिहास निर्माण गरिसकेका शेरबहादुर देउवादेखि डा. शेखर कोइरालाहुँदै गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार हुँदै शशांक कोइरालादेखि बालकृष्ण खाँणसम्मको मूल्यांकन गर्ने जिम्मा इतिहास र भावी पुस्तालाई नै छाडिदिऊँ ।
अब त चर्चा कांग्रेसका लागि ‘वैचारिक फाँटबाट सार्वजनिक साख’ निर्माणमा तल्लीन गगनकुमार थापा र विश्वप्रकाश शर्माहरूका बारे गरिन जरूरी छ । किनकि पार्टीहरू भित्र ‘मूल्य र मान्यता’को खडेरी पर्दै गएका समयसँगै ‘स्टन्ट’लाई नै राजनीतिको आधार मानेर राजनीतिमा उदय भएका ‘नयाँ’ भनिएकाहरूको आलोचना बीच पनि आजका मितिसम्म ‘गगन–विश्व’ले ‘आत्मानुशासन र संस्कार’को राजनीतिक अभ्यास गर्न खोजेको देखिन्छ ।सोही कारण पनि उनीहरूलाई आशाको नजरले हेर्ने ठूलै समूह कांग्रेस र इतरवृत्तमा छ । यसको ‘नजरअन्दाज’ गरिहाल्न मिल्दैन ।पुराना दलले आफ्ना दलका यथास्थितिवादी रैथाने नेतालाई वैधानिक फोरम ‘महाधिवेशन’बाट सम्मानजनक बिदावारी गर्न नसक्ने हो भने २०८४ मा ‘मास विस्फोट’को खतरा रहन सक्छ ।राष्ट्रिय महाधिवेशनको तिथिमिति नतोकिंदै कांग्रेस नेताहरूलाई महाधिवेशनको रन्कोले छपक्कै छोपेको छ । लामै विरासत बोकेको दल हुँदैमा प्रभावकारी हुने भए, न त नेपालको ‘प्रजापरिषद्’, न चीनको ‘कोमिङताङ’ नै राजनीतिक परिदृश्यबाट हराउने थिए ! आज दुवै देशमा दुवै दल इतिहासको दराजमा थन्किएका छन् ।दुनियाँमा कहीं पनि परिवर्तन ‘रातारात’ सम्भव छैन । नेपालकै सन्दर्भमा पनि न त ‘गगन–विश्व’हरूको सामान्य परिवर्तनको जोडले कांग्रेसमा बदलाव सम्भव छ, न घनश्याम भुुुसालहरूको प्रयासले समाजवाद । परिवर्तनका निम्ति कांग्रेस जस्तो पार्टीको हकमा ‘गगन–विश्व’हरूले ‘सिद्धान्तको पुनर्निर्माण, पार्टी संगठनको पुनर्गठन र पार्टीभित्र आचरणमा शुद्धताको झण्डा उठाउनै पर्दछ । यो कामका निम्ति माओवादी केन्द्रसँग गठबन्धन गरेर सरकार निर्माण गरिएकै समय एमालेसँग मिलेर कोशीमा हिजो सरकार निर्माणमा देखाइएको ‘अपरिपक्वपन’ देखि आफ्नै समूहमा रहेका ‘३७ भाइ’ मध्ये जम्माजम्मी ‘१२ भाइ’ लिएर सरकार नै निर्माण गर्नेसम्मका ‘हवाई कल्पना’ गर्दै हिंड्नुहुने कांग्रेसका नेता डा. शेखर कोइरालाबाट सम्भावनै छैन ।