Artharajniti ~ काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनासम्बन्धी मुद्दामा दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि राति उनीहरूलाई थुनामा पठाउने आदेश आएको हो । थुनामा पठाइएका व्यक्तिहरूमा दुर्गा प्रसाईंसँगै सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् । बाँकी ३२ जनालाई भने धरौटीमा छाड्न आदेश दिइएको छ । चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आह्वान गरेको प्रदर्शन तीनकुनेमा हिंसात्मक बनेको थियो । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी सवारी साधन र जडिबुटी प्रशोधन केन्द्रमा आगजनीसमेत भएको थियो । उक्त प्रदर्शनमा दुर्गा प्रसाईं जनकमान्डरका रूपमा संलग्न रहेको बताइएको छ । ती घटनापछि सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ ११ गते ६१ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तीमध्ये ५० जनाविरूद्ध आपराधिक उपद्रव, संगठित अपराध तथा राज्यविरूद्धका कसुरमा र ८ जनाविरूद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसमेतका आरोपमा मुद्दा लगाइएको थियो । बाँकी ११ जनाविरूद्ध आपराधिक उपद्रवसम्बन्धी मात्रै मुद्दा दायर गरिएको थियो, जसमा उनीहरू धरौटी बुझाएर छुटिसकेका छन् । ५० जना आरोपितमध्ये ३९ जना मात्रै प्रहरीको सम्पर्कमा रहेकाले उनीहरूलाई अदालतमा उपस्थित गराएर प्रक्रिया अघि बढाइएको थियो । उनीहरूको जेठ १२ गतेदेखि २० गतेसम्म बयान लिइएको थियो, जसपछिको थुनछेक बहस बिहीबार सकिएपछि अदालतको आदेश आएको हो ।
तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा
