घर-जग्गा खरिद गर्दा केवाइसी सहितको बैँक स्टेटमेन्ट अनिवार्य

Machchapuchchre Bank

Artharajniti  ~  अब घरजग्गाको कारोबार गर्दा किन्ने र बेच्ने दुवै पक्षले बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सबै भूमि सुधार तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो। पत्रमा भनिएको छ, ‘घर जग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्था (मालपोत) ले खरिदकर्ता बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने भएको छ।’ किन्ने र बेच्ने दुवै पक्षको बैंकमा ग्राहक पहिचान फारम पनि भरिएको हुनुपर्छ। यसअघि कारोबारको क्रममा डिपोजिट भौचर तथा गुड फर पेमेन्ट राख्नुपर्ने व्यवस्था थियो। डिपोजिट भौचर राख्ने गरे पनि सोही अनुसार वास्तविक कारोबार नहुने गरेकोले यस्तो व्यवस्था गरिएको हो। अहिले पनि १० लाखभन्दा बढी रकमको कारोबारहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार मालपोत, बैंक, ब्रोकर कम्पनी, बीमा कम्पनी लगायतका सूचक संस्थाले अनिवार्य सूचना पठाउनुपर्ने व्यवस्था छ। १० लाखभन्दा बढी रकमको कारोबारलाई सीमाभन्दा माथिको कारोबार मानिने व्यवस्था छ।

त्यस्तै, यस्ता सूचक संस्थाहरूले शंकास्पद कारोबारको पनि रिपोर्टिङ गर्नुपर्ने व्यवस्था छ। यही व्यवस्था अनुसार मालपोत कार्यालयहरूलाई कुनै पनि शंकास्पद कारोबारको पनि जानकारी राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइलाई दिनुपर्ने भएको हो। एकै दिनमा एकै पटकमा वा पटक पटक गरी एउटै खरिदकर्ता वा बिक्रीकर्ताले तीन करोड रूपैयाँ माथिको कारोबार गरेमा समेत विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा दिनुपर्ने व्यवस्था गरिएको छ। घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरेमा दश लाख रूपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणाली मार्फत लेनदेन भएको विवरण समेत बैनाबट्टाको कागजसाथ पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्