धितोपत्र बोर्डमा अख्तियारको छापा

Machchapuchchre Bank

Artharajniti  ~   जलविद्युत् प्रवर्द्धकहरूले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा कमिसन मागेको आरोप लगाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा छापा मारेको छ । बोर्डका एक कर्मचारीका अनुसार आयोगको एक टोलीले बुधबार बिहान साढे ११ बजे ललितपुर, खुमलटारस्थित बोर्डको कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएको छ ।अख्तियारबाट खटिएको तीन सदस्यीय टोली दिनभर नै बोर्ड कार्यालयमा बसेर विभिन्न फाइलहरू अध्ययन गरेको र साँझ ४ बजे मात्र कार्यालयबाट बाहिरिएको उनले बताए । २२ महिनायता करिब ८९ कम्पनीको आईपीओ अनुमति रोकेको बोर्डले ७ प्रतिशतसम्म कमिसन उठाउन बिचौलिया परिचालन गरेको भन्दै जलविद्युत् प्रवर्द्धकहरूले मंगलबार औपचारिक कार्यक्रम गरेर छानबिनको माग गरेका थिए । त्यही विषयमा आयोगले छानबिन तथा अनुसन्धान प्रक्रिया थालेको हो । धितोपत्र बोर्डका कामकारबाही सम्बन्धमा यसअघि पनि लिखित तथा मौखिक उजुरीहरू आइरहेका थिए, पछिल्ला दिनहरूमा थप कुरा आएपछि अनुसन्धान सुरु गरेको आयोग स्रोतले बताएको छ । ‘यसअघि पनि मापदण्ड नपुगेका कम्पनीलाई आईपीओ अनुमति दिएको, शक्ति र पहुँचका आधारमा प्रक्रिया मिचेर काम हुने गरेको, लामो समयसम्म अनुमति नदिएर पदीय दुरुपयोग गरेको भन्दै बोर्ड र उच्च व्यवस्थापनविरुद्ध उजुरी परेका थिए,’ स्रोतले भन्यो ।

छापा मारेर ‘कमिसन’ प्रकरणमा सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको अख्तियारका एक अधिकारीले बताए । ‘यसमा प्रारम्भिक अध्ययन गर्दा कैफियत देखिएपछि विस्तृतमा अनुसन्धान गर्नुपर्ने देखिएर बोर्डबाट कागजात नियन्त्रणमा लिइएको हो, अब बाँकी विषय अनुसन्धानबाटै निर्क्योल हुन्छ,’ उनले भने । आयोगको टोली कार्यालय आएको र आईपीओ प्रक्रियामा रहेका कम्पनीहरूको अवस्थाबारे जानकारी माग भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्विकारे । ‘उहाँहरूले कुनै पनि फाइल लानु भएको होइन, आईपीओ प्रक्रियामा रहेका कम्पनीहरूको अवस्था र सूची माग गर्नुभएको हो,’ अध्यक्ष श्रेष्ठले भने । यसैबीच अध्यक्ष श्रेष्ठले बुधबार नै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) सँगका पदाधिकारीसँग बैठक गरेका छन् । अध्यक्ष श्रेष्ठकै निर्देशनमा बोर्ड व्यवस्थापनले इप्पानका पदाधिकारीलाई डाकेर छलफल गरेका थिए । बैठकमा अध्यक्ष श्रेष्ठले बिनाप्रमाण आरोप लगाएर आफ्नो नैतिकतामा प्रश्न उठाएको र यसले पारेको असरको क्षतिपूर्ति कसरी हुन्छ भन्ने गुनासो गरेका थिए । यसअघिको कुराकानीमा पनि बोर्डका अध्यक्ष श्रेष्ठले विद्युत् उत्पादकहरूको आरोपमा सत्यता नभएको दाबी गरेका थिए । कमिसनको आरोप प्रमाणित गर्न उनले चुनौती दिएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्