Artharajniti ~ प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीबारे आफूले सार्वजनिक गरेको प्रमाण शत प्रतिशत सत्य भएको दाबी गर्दै यसबारे छानबिनको माग समेत गरेका छन् । हिरासतबाटै समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेख्दै उनले ओली जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको समेत दाबी गरेका छन् । उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्–‘प्रधानमन्त्री केपी शर्मा ओलीसंग जोडिएको कम्बोडियाको टेलिकम एक्जिएटामा ओलीको लगानी भन्ने प्रमाणको आधारमा कम्बोडियामा प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याए । यसको लागि मैले आफ्नो समय र धनको लगानी गरे। नेपाली जनता माझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउदा म आज अत्यन्त हर्षित छु। मलाई थाहा छ भ्रष्टहरुको सत्ता निर्मम हुन्छ। उनीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायराल़ाई आफू केन्दित गर्छन्।’