Artharajniti ~ नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुष्टि गरे । ‘कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरेका छौं,’ उनले भने, ‘बिहारमा १२५ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति पाइसकेका छौं । बिस्तारै परिमाण बढाउँदै लैजान्छौं ।’१४.४ मेगावाट क्षमताको मोदी, १४.४५३ मेगावाटको मायाखोला र ११.६४ मेगावाटको दूधकुण्ड आयोजनाको बिजुली निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ । स्वीकृत अन्य आयोजनाको बिजुली पनि बिस्तारै निर्यात थालिने घिसिङको भनाइ छ । मध्यकालीन सम्झौताबमोजिम पीटीसी, भारतमार्फत बिहार राज्यमा बिजुली निर्यात गरिरहेको प्राधिकरणले बताएको छ । यही भदौ ३ मा भारतीय दूतावासले द्विपक्षीय सम्झौताबमोजिम नेपालले भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको जनाएको थियो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौताबमोजिम हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट निर्यात गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर बिन्दुमार्फत विद्युत् निर्यात गरिनेछ । अहिले कटैया प्रसारणलाइनबाट विद्युत् निर्यात गरिएको घिसिङले बताए । प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ । हरियाणासँग पहिलेदेखि बिजुली बिक्री गरिरहेकाले स्वीकृति पाएको भोलिदेखि नै बिक्री सुरु गरे पनि बिहारसँग केही समय लागेको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषको भनाइ छ । ‘हरियाणालाई पहिलेदेखि नै बिजुली बेचिरहेका थियौं,’ उनले भने, ‘बिहारसँग पहिलो चोटि भएकाले बिजुली बिक्री गर्न प्राविधिक विषय टुंग्याउन केही समय लाग्यो । त्यसैले स्वीकृति पाए पनि बिजुली बिक्री गर्न केही ढिला भयो ।’प्राधिकरणले आन्तरिक खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गर्नेछ । योसँगै मध्यकालीन सम्झौताबमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीलाई बिक्री गरिने विद्युत्को परिमाण ३६० मेगावाट पुगेको छ । प्राधिकरणका अनुसार ९ सय ४१ मेगावाट बिजुली निर्यात स्वीकृति पाएकोमा थप १० प्रतिशत बढी बिक्री गर्न मिल्नेछ । अहिले प्रतिदिन करिब ८ सय मेगावाट बिजुली निर्यात भइरहेको प्राधिकरणको भनाइ छ । ‘मध्यकालीन सम्झौताअनुसार हामीले तलमाथि गर्न सक्दैनौं । बिहारमा बल्ल ४० मेगावाट बिजुली पठाउन सुरु भएको छ, अरु बिस्तारै जानेछ,’ घोषले भने, ‘प्रतिस्पर्धी बजारमा पनि आन्तरिक खपत गरी अतिरिक्त बिजुली बेचिरहेका छौं ।’
चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा मात्रै ४ अर्ब १९ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ । प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गरी ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक १३ करोड ११ लाख रुपैयाँको बिजुली निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ८९ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । तर यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात भएको थियो ।