” हामी विजयी भएर निस्कियौं” : अध्यक्ष प्रचण्ड

Machchapuchchre

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकारबाट विजयी र बेदाग भएर निस्किएको दाबी गरेका छन्। बुधबार बिहान नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले विजयी भएर सरकारबाट निस्किएको बताएका हुन्। ‘देशभरीको प्रारम्भिक रिपोर्ट सुन्दा आम जनता र कार्यकर्तामा निराशा छैन बरू हामी विजयी भएर निस्केका छौं। बेदाग निक्लेका छौं,’ उनले भने, ‘हामीलाई कुनै त्यस्तो ठूलो न ओम्नी, न गिरिबन्धु, न भूटानी हामी त्यस्ता कुनै दागरहित होइन ती गतिविधिविरूद्ध संघर्ष गर्दागर्दै निस्किनु परेको कुरा जनताले बुझेको छ।’ अध्यक्ष प्रचण्ड माओवादी केन्द्र सरकारबाट निस्कनुको कारण पनि आम जनतालाई थाहा भएको दाबी गरे। ‘सुशासनको पक्षमा नेपालको इतिहासमा नै पहिलोपटक सरकारको तर्फबाट दूरगामी पहल भएपछि एउटा पक्ष एउटा तह भ्रष्टाचारमा लिप्त हुने तत्वहरूका लागि सह्य भएन। आम जनतामा पनि मोटामोटी स्थापित छ विचौलियाहरूको पहलमा नै नयाँ गठबन्धन बनाइयो र उनीहरूको हितमा नै यसले काम गर्छ भनेर हामीले भनिराख्नु पर्दैन। अहिले आमजनतामा छर्लंगजस्तै छ,’ उनले भने। प्रचण्डले अहिले सरकारमा गएकाहरूको मानसिकत पराजित र रक्षात्मक रहेको पनि बताए। यीनै विषयहरूलाई लिएर माओवादी केन्द्र अब जनतामा जाने अध्यक्ष प्रचण्डले बताए। सरकारमा रहँदा गरेका कामहरू नै जनतामा जाने र त्यसलाई संगठनमा बदल्ने आधार बन्ने बताए।  अध्यक्ष प्रचण्डले संविधानमा जनताले प्राप्त गरेको उपलब्धी उल्ट्याउने खतरा पनि रहेको बताए।  संविधान मिच्ने, समानुपातिक समावेशी प्रतिनिधित्वको प्रणाली उल्ट्याउने, संघीयता जसरी स्थापित छ त्यसलाई परिमार्जित नभइ त्यसलाई पनि उल्ट्याउन खोजिएको उनले दाबी गरे। ‘जसको नेतृत्वमा अहिले गठबन्धन बनेको छ हिजो संविधान मिच्ने र संसद विघटन गर्ने खतरा छ। लामो संघर्षबाट प्राप्त भएका उपलब्धीहरूमाथ प्रहार गर्ने खतरा छ,’ उनले भने।  त्यसकारण अब फेरि सरकारमा जाने भन्नेमा आफू नरहेको उनले भने। ‘फेरि सरकार भन्नेमा छैनौं। अब जनतामै जाने र जनतालाई जागृत गर्ने। प्रतिगामी कदम चालिन्छ भन्ने देखेकै छौं। आवश्यक परे जनतालाई फेरि लिएर सडक र संसदबाट प्रतिवाद गर्नेछौं,’ प्रचण्डले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्