रास्वपाले मेलम्चीबाट थाल्यो दबाब अभियान

Machchapuchchre

Artharajniti  ~  रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियान सुरु गरेको छ। रास्वपाले आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट अभियान सुरु गरेको हो। अभियान सुरु गर्न रास्वपाका सबैजसो सांसद र केन्द्रीय नेता मेलम्ची पुगेका थिए। अभियान चैत २१ गतेसम्म संचालन हुने रास्वपाले जनाएको छ। रास्वपाले दबाबका लागि प्रत्येक प्रदेशबाट ३/३ वटा आयोजना छनोट गरेको छ। मेलम्ची खानेपानी आयोजना २०७० मा सक्ने गरी २०६६ मा ठेक्का लगाइएकामा अझै पूरा भएको छैन। जसका कारण लागत ३३ अर्बबाट बढेर ६० अर्ब रुपैयाँ पुगिसकेको छ। अरु विकास आयोजना पनि यो भन्दा फरक छैनन्। लागत बढाउने तर लक्षित समुदायले लाभ नै नपाउने अवस्थाका कारण सरकारलाई आयोजना पूरा गर्नका लागि दबाब दिन अभियान सुरु गरेको रास्वपाका सभापति रवि लामिछानेले बताए। रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले एसियाली विकास बैंक, विश्‍व बैंक लगायत विकास साझेदारमाथि पनि अब ‍औंला ठड्याउने बताए। ‘नेता र कर्मचारी विकास साझेदारबाट जे आउँछ त्यही हात थाप्ने प्रवृत्तिका देखिए। अब हामी आयोजना किन आवश्यक छ, ऋण धान्न सक्छौं कि सक्दैनौं भनेर विकास साझेदारलाई प्रश्‍नको कठघरामा उभ्याउँछौं। हैकम देखाएर ऋण दिने कुरा अब स्वीकार्य हुँदैन,’ उनले भने। उनले विकास आयोजनामा बाधकका रुपमा रहेका कानुनविरुद्ध अब संसद्‍मा आक्रामकरुपमा प्रस्तुत हुने बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्