कांग्रेसको ७८औँ स्थापना दिवसः विभिन्न कार्यक्रम गरी मनाउँदै

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसले शुक्रबार (आज) ७८ औँ स्थापना दिवस मनाउँदैछ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासमेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, संकल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको कार्यक्रम छ । ‘नेपाली कांग्रेस स्थापनाको ७७ वर्ष बितेको छ । यो वर्ष हामी ७८ औँ स्थापना दिवस मनाउँदैछौँ,’ मुख्यसचिव पौडेलले भने, ‘यो पार्टीका लागि आफैँ ऐतिहासिक क्षण हो । त्यसकारण पनि दिवसलाई महत्वका साथ लिएर देशभरि विभिन्न कार्यक्रम हुँदैछन् ।’ नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने ध्येयले खुलेको नेपाली कांग्रेस नेपालकै सबैभन्दा पूरानो दल हो । पहिले सीमित उदेश्यले खुलेको भएपनि पछि यसले बृहत रुप लिँदै मुलुकको शासन सत्तामा स्थापित भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्