Artharajniti ~ राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक अर्थतन्त्र जसरी चलायमान हुनुपर्ने हो त्यसरी हुन नसकेको धारणा व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शनिबार विराटनगरमा आयोजित नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको दोस्रो पदस्थापन समारोहमा आन्तरिक अर्थतन्त्र चलायमान हुन नसकेको बताएका हुन्। राष्ट्रपतिले कोभिड-१९ महामारीको प्रभावस्वरूप शिथिल भएको अर्थतन्त्रलाई पुनरूत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव परेको चर्चा गरे। पौडेलले सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति र निजी क्षेत्रको सहयोगका कारण वाह्य क्षेत्र बलियो अवस्थामा रहेको बताए। उनले विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै शोधनान्तर स्थिति वचतमा भएको बताए। उनले स्वदेशमै गाउँघरमा सम्मानजनक रोजगारी र आम्दानीको सिर्जना नहुँदा सारा जनशक्ति विदेसिएर गाउँघर रित्तिँदै गएको उल्लेख गरे। उनले कुल लगानीमा दुई तिहाईभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरूको समीक्षा गरेर नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी भएको विचार प्रकट गरे। राष्ट्रपति पौडेलले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिए। उनले सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्वपूर्ण कार्य हुने बताए। पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै वातावरण संरक्षणका साथ हरित अर्थतन्त्र र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तह निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा अगाडि बढ्नुपर्ने राय व्यक्त गरे।