अध्यक्ष ढकाल : – ” सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको अवस्था “

Machchapuchchre

Artharajniti   ~   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च अवस्थामा रहँदा कुनै विनिमय जोखिम समेत नरहेको अवस्थामा र मासिक एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिरहेको बेला समेत बजारमा माग नबढ्नु र औपचारिक आयात नबढ्नुले विरोधाभासपूर्ण तथ्यांक देखिएको उनको आशङ्का छ । उनको ठम्याई थियो, ‘यो सम्भवतः सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको अवस्था हो । लगानी र कारोबार घट्नु तर बजार मूल्य एक्कासि बढ्ने देखिएकोमा त्यस्तो समस्यालाई तुरुन्तै हल गर्नु पर्छ । यदि यसो भएन भने यो समस्या थप गहिरिन सक्छ ।’   उनले बैंक तथा वित्तीय संस्थाहरूमा करिब पाँच खर्ब लगानीयोग्य रकम थुप्रिएको जानकारी समेत गराए । ढकालले अगाडी भने, ‘तरलता आपूर्ति बढ्ला ब्याज घट्नु पर्नेमा त्यसो भएन । बैंकहरुसंग करिब पाँच खर्ब लगानीयोग्य रकम थुप्रिएको छ ।’   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ढकालले आर्थिक सुधारको नयाँ नीति तत्कालै घोषणा गर्न समेत माग राखे । उनले २०४८ साल ताका थालिएको अर्थतन्त्रको सुधारको नीतिले अब थेग्न नसक्ने जिकिर गरे । उनले प्रधानमन्त्रीलाई तत्कालै आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च कानुनी हैसियत भएको संयन्त्र गठन गर्न माग गरे । त्यसको अध्यक्षता समेत प्रधानमन्त्री आफैलाई गर्न उनले आग्रह गरे । त्यस्तै, संयन्त्र वा आयोगमा निजी क्षेत्रका छाता सङ्गठनहरूको अनिवार्य सहभागिता रहनु पर्ने माग समेत उनले गरे । त्यस्तो निकायमा सरकारका तर्फबाट अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकको नेतृत्वसहित सहभागिता हुनुपर्ने उनको सुझाव थियो । त्यस्ता आयोगले सरकारी खर्च नबढाओस् भनेर सुनिश्चित गर्न आबद्ध भएका पदाधिकारीहरूले अवैतानिकरुपमा काम गर्नुपर्नेगरि कार्यविधि निर्माणको समेत उनले सुझाव दिए ।

 

 

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्