राष्ट्र बैंकको नयाँ नीतिले पनि बढेन लगानीकर्ताको मनोबल

Machchapuchchre

Artharajniti  ~  राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाए पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा आइतबार सेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक १.८२ प्रतिशत अर्थात ३५.६७ अंकले घट्दै १९२१.२४ विन्दुमा झरेको छ । केन्द्रीय बैंकले गत बिहीबार एक परिपत्र जारी गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर १५ करोड रुपैयाँ पुर्याएको छ भने संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जाको सीमा पनि बढाएर २० करोड रुपैयाँ पुर्याएको छ । लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जाको सीमा बढाउनुपर्ने माग राख्दै आएकोमा राष्ट्र बैंकले ढिला गरी सीमा बढाएको हो । तर पनि लगानीकर्ताले यसमा सन्तुष्टि जनाएका छैनन् । केन्द्रीय बैंकको नयाँ नीतिले सेयर बजारमा राष्ट्र बैंकको ठाडो हस्तक्षेप रहेको देखिएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । उनले लगानीकर्ताको मनोबल बढाउनका लागि नीति आवश्यक हुँदा पनि गभर्नरले हस्तक्षेप गरेर नीति ल्याएको गुनासो गरिन् । अध्यक्ष पोखरेलले भनिन्, ‘सीमा नै राख्न हुँदैनथ्यो । खर्बौंको बजारमा सीमा बढाउने भनेर अंकमात्रै बढाउने काम भयो ।’ उनले राष्ट्र बैंकले लगानीकर्तालाई बजारप्रति विश्वस्त बनाउन नै नचाहेको बताइन् । उनले नेपालको सेयर बजार टुकटुक हिँड्न थालेको समयमा नियामकले बेमौसमी बाजा बजाउने गर्दा लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखिने गरेको समेत टिप्पणी गरिन् ।राष्ट्र बैंकको नीति पुँजी बजार अनुकूल नहुँदा लगानीकर्ताले ‘रेस्पोन्स’ नै नगरेको उनले बताए । लगानीकर्तालाई बजारप्रति विश्वस्त पार्नु नियामकको दायित्व भए पनि त्यस्तो हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज, अर्थ मन्त्रालय र राष्ट्र बैंक एक ठाउँमा रहेर पुँजी बजारबारे सुक्ष्म अध्ययन गरेर कन्फिडेन्स बढाउने दायित्व पूरा गर्नेतर्फ लाग्नुपर्छ ।’ लगानीकर्ताहरूले राष्ट्र बैंकको सो नीतिको विरोध गरिरहेको समयमा बैंकका सञ्चालकहरूको संस्था बैंक तथा वित्त परिसंघ नेपालले भने सो नीतिको पक्ष लिएको छ । परिसंघको सचिवालयले विज्ञप्ति जारी गर्दै सेयर बजारको नीति लगायतमा राष्ट्र बैंकले जारी गरेको नीतिले बजारलाई राम्रो बनाउने बताएको हो । परिसंघले भनेको छ, ‘मार्जिन प्रकृतिको सेयर धितो कर्जाको प्राकृतिक र संस्थागत सीमा बढाउनुले लाखौं जनताको भविष्य जोडिएको पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।’ धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफूले भनेको भएर नै राष्ट्र बैंकका गभर्नरले व्यक्तिगत र संस्थागत सेयर धितो कर्जाको सीमा बढाएर १५ करोड र २० करोड रुपैयाँ पु¥याएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्