अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किएको तथ्यांक सार्वजनिक गरेसँगै शेयरबजारमा तीव्र वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक ३ दशमलव ६५ प्रतिशत ९७६ दशमलव ६४ अंक वृद्धि भएर २ हजार १७७ दशमलव ३५ विन्दुमा पुगेको हो । सोमवार राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको पुस मसान्तसम्मको अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले शोधनान्तर बचत, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकमा उत्साहजनक सुधार भएको देखाएको छ । राष्ट्र बैंकले अर्थतन्त्रका समष्टिगत सूचकांक प्रगति उन्मुख रहेको प्रतिवेदन प्रकाशन गरेसँगै लगानीकर्ता सकारात्मक बने । यसले गर्दा बजारमा खरीद माग उच्च देखिएको छ । ब्याजदर महँगो हुँदा ऋणको माग कम छ । तर, बढेको निक्षेपले बैंकिङ प्रणालीमा अधिक तरलता उपलब्ध हुन थालेको छ । सीडी रेसियो घटेको छ । वित्तीय प्रणालीमा तरलता थपिएसँगै बैंकहरूले राष्ट्र बैंकसँग लिने सापटी पनि कम हुँदै छ । अन्तरबैंक दर ४ प्रतिशत हाराहारीमा झरेको छ । तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्यो । माघ महीनादेखि निक्षेपको ब्याजदर पनि घटेको छ । यसले आगामी दिनमा बैंकहरूको लागत घटेर कर्जाको ब्याज सस्तिने संकेत गरेको छ । यी सम्पूर्ण कारणले गर्दा शेयर लगानीकर्ता सकारात्मक देखिएका छन् ।त्यसैगरी शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउन अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर सकारात्मक देखिएका छन् । सोही कारण मंगलवार बजार बढेको पुराना लगानीकर्ता डमरुवल्लभ घिमिरे बताउँछन् । सोमवार मात्रै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पूँजी बजार विकास र विस्तारका लागि लगानीकर्ताको हितमै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसले पनि बजारमा सकारात्मक प्रभाव परेको घिमिरको भनाइ छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति