घरजग्गा कारोबारः चितवन, नेपालगंज र धनगढीले उछिन्न थाले काठमाडौंको कारोबारलाई

Machchapuchchre

अर्थ राजनीति ~   गत महिना असारमा निषेधाज्ञाले प्रभावित घरजग्गा बजार उपत्यकामा भएका ठूला कारोबारले मात्रै धानेको थियो।निषेधाज्ञा खुकुलो भएसँगै साउनमा भने उपत्यका बाहिर पनि ठूला  किनबेच हुँदा घरजग्गा क्षेत्र पुनः लयमा फर्किएको छ। साउनमा देशभर कूल आठ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन हुँदा रजिष्ट्रेशन दस्तुर मात्रै चार अर्ब ६ करोड रुपैयाँ संकलन भएको छ। जसमा उपत्यकाका पाँच वटा ठूला कार्यालयपछि सबैभन्दा धेरै चितवन मालपोत कार्यालयले २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।चितवनपछि पोखराले १५ करोड, वीरगञ्जले १२ करोड, इटहरी ११ करोड, बुटवल, हेटौडा, धनगढी र नेपालगंजले समेत करिब १०/१० करोड रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन गरेका छन्। चार अर्ब छ करोड रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन हुँदा उपत्यकाका ८ कार्यालयले भने दुई अर्ब २० करोड रुपैयाँ शुल्क संकलन गरेका छन्। असारमा तीन अर्ब ८८ करोड रुपैयाँ मात्रै रजिष्ट्रेशन दस्तुर संकलन हुँदा पनि उपत्यकामा दुई अर्ब चार करोड रुपैयाँ शुल्क संकलन भएको थियो। उपत्यकामा असारको तुलनामा साउनमा १० प्रतिशत मात्रै बढी शुल्क संकलन भएको हो। ललितपुर मालपोत कार्यालयबाट सर्वाधिक ५१ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन हुँदा कलंकीबाट समेत ३७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। भक्तपुर र डिल्लीबजारबाट समान ३२ करोड रुपैयाँ, चाबहिलबाट २९ करोड, साँखु र मनमैजुबाट समेत समान करिब १४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सबैभन्दा कम राजस्व संकलन गरेको टोखा मालपोतले समेत करिब १० करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ। असारमा भने उपत्यकामा सबैभन्दा धेरै लगनखेल र डिल्लीबजारबाट ५२/५२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। चाबहिलले २६, भक्तपुरले २४ र कलंकीले २२ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए। मनमैजुले ९ करोड संकलन गर्दा साँखु र टोखाले ७/७ करोड राजस्व संकलन गरेका थिए। मालपोत कार्यालय चितवनले साउनमा करिब २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो भनेको उपत्यकाका ठूला पाँच कार्यालय पछिको सबैभन्दा धेरै हो। चितवनमा काठमाडौं पछिका सबैभन्दा धेरै ४ वटा मालपोत कार्यालयहरु संचालनमा छन्। चार कार्यालयबाट गरि चितवनमा २८ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ। गत महिना भने चितवनले चार कार्यालयबाट गरि १२ करोड ६५ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। सबैभन्दा धेरै चितवन कार्यालयले सात करोड ९५ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। साउनमा १० करोड रुपैयाँ राजस्व संकलन गर्ने चितवन बाहेकका हेटौडा, बुटवल, इटहरी, धनगढी, विराटनगर र नेपालगंज मध्ये केही कार्यालयमा भने पहिलोपटक यति धेरै रजिष्ट्रेशन दस्तुर संकलन भएको हो। यस अघि इटहरी, विराटनगर र चितवनमा भने बेला बेला १० करोड रुपैयाँ हाराहारी रजिष्ट्रेशन दस्तुर संकलन भएपनि नेपालगंज, बुटवल र धनगढीमा भने पहिलो पटक १० करोड रुपैयाँ हाराहारीमा रजिष्ट्रेशन शुल्क संकलन भएको हो। साउनमा देशभर ७५ हजार लिखत पारित भएका छन्। असारमा भने देशभर ४८ हजार मात्रै लिखत पारित भएका थिए। साउनमा सबैभन्दा धेरै लिखत पारित गर्ने कार्यालयमा पनि इनरुवा सुनसरीले ४३ सय, जनकपुरले २८ सय, नेपालगंजले २६ सय, भक्तपुरले २५ सय, ललितपुरले २३ सय तथा कलंकी विराटनगर र चितवनले समान २/२ हजार घरजग्गा किनबेच गरेका छन्। त्यस्तै धनगढी, बारा र पर्साले समान १८ सय घरजग्गा किनबेच गराएका छन्। असारमा भने सबैभन्दा धेरै लिखत पारित गर्ने सुनसरीले पनि जम्मा २६ सय घरजग्गा मात्रै किनबेच गरेको थियो। त्यस्तै साउनमा ५० हजार घरजग्गा रोक्का राख्दा ३१ हजार घरजग्गा फुकुवा भएका छन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्