सेयर कारोबारमा चलखेलको आंशका , छानबिन सुरु

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा चलखेल भएको आशंकामा ५१ वटा कम्पनीको सेयर कारोबारको छानबिन सुरु गरेको छ । बोर्डले जोखिमयुक्त संस्थाहरूको नाम सार्वजनिक गर्दै उनीहरूको कारोबारबारे विस्तृत अध्ययन सुरु गरेको हो । बोर्डले एक वर्ष अवधिमा तीन सय प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र त्यसभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका र कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनका आधारमा जोखिमयुक्त संस्थाको नाम नै सार्वजनिक गरेको छ । ती कम्पनीहरूको सम्बन्धमा आवश्यक जानकारी प्राप्त गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्न समेत लगानीकर्तालाई आग्रह गरेको छ ।बोर्डले नाम नै सार्वजनिक गरेसँगै ती कम्पनीका लगानीकर्ता जोखिममा परेको भन्दै आलोचना समेत भइरहेको छ । बोर्डले सार्वजनिक गरेको जोखिमयुक्त कम्पनीको सूचीमा अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् । ५१ कम्पनीमध्ये २२ वटा हाइड्रो छन् भने जीवन र निर्जीवन कम्पनी ५/५ वटा रहेका छन् । यसैगरी फाइनान्स समूहका ३, विकास बैंक, होटल्स, लघुवित्त र व्यापार समूहमा २/२ वटा कम्पनीहरू रहेका छन् ।
बोर्डले जोखिमपूर्ण सूचीमा राखेका कम्पनी मध्ये चन्द्रागिरि हिल्स, सोल्टी होटल, आँखुखोला जलविद्युत्, दिव्येश्वरी हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर, सान्जेन जलविद्युत् कम्पनी, अपर तामाकोसी हाइड्रो कम्पनीको प्रतिसेयर आम्दानी र पीई रेसियो ऋणात्मक छ । बोर्ड स्रोतका अनुसार, कतिपय कम्पनीमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका चलखेलबाट सेयर मूल्य बढाइएको पाइएकोले लगानीकर्तालाई सचेत गराइएको हो । निषेधाज्ञाले आर्थिक गतिविधि प्रभावित भए पनि सेयर बजारमा भने सूचक र कारोबार रकमले रेकर्ड कायम गरेसँगै बजारमा चलखेल भएको आशंका गरिँदै आएको छ । यसअघि बोर्डले आफ्नो वार्षिक उत्सवकै दिन आइतबार बजारमा अस्वाभाविक कारोबार र चलखेल भएको भन्दै सचेत हुन सर्वसाधारणलाई आग्रहसमेत गरेको थियो । बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ र सर्कुलर ट्रेडिङ भएको विषयमा अध्ययन सुरु गरिएको भन्दै लहैलहैमा लगानी नगर्न समेत सुझाव दिएको थियो । बोर्डले लगानीकर्तालाई देशको आर्थिक परिदृश्य, सूचीकृत कम्पनीका प्रतिसेयर आम्दानी, नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात, कम्पनीको संस्थागत सुशासन आदिलाई विश्लेषण गरेरमात्र सेयर किन्न आग्रह गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्