अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस पस्न नदिएपनि पानीचाहिँ नरोक्न आग्रह गरेका छन्। सुनकोशी-मरिन डाइभर्सनको सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानीचाहिँ पसाउँछ, पानीचाहिँ नरोक्नुहोला।’ उनले कार्यक्रममा सहभागी रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई यो सन्देश लिएर जान आग्रहसमेत गरेका थिए। ‘यो आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिन्छ। केपी ओलीलाई मधेसविरोधी भनेर तराईमा पस्त नदिने भन्थे तर, केपी ओलीलाई मधेसमा पस्न नदिए पनि तराई मधेसमा पानी पठाइन्छ। मुख्य मन्त्रीज्यूलाई म भन्न चाहान्छु मलाई तराई मधेसमा पस्न नदिएर केही भएन पानीचाहिँ पस्न दिनु होला। तराईमा त्यस्ता जनताहरू छैनन्, मलाई केही छैन अर्को कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टरमा क्षेत्रफल सिँचाई पुगेपछि तराईबासीहरूले आफैं गेट बनाउँनेछन्,’ उनले भने।उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने योजना रहेको उनले बताए। त्यस्तै, डाइभर्सनको पहिलो बिन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए।
मलाई मधेस पस्न नदिए पनि पानीलाई चाहिँ नरोक्नुहोला : प्रधानमन्त्री
