विप्लव समूहको प्रतिवन्ध फुकुवा

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल सरकार र भूमिगत गतिविधि गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच आज  बिहीबार तीन बुँदे सहमति भयो। दुई दिन अघि भएको प्रारम्भिक वार्ता पछि गृहमन्त्रालयले प्रहरीलाई विप्लव समुहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको छ। सैद्धान्तिकरुपमा सहमति भएको भनिए पनि विप्लव समूहसँग भएको हतियारको विषयमा वार्ता टोलीको तर्फबाट आधिकारिक धारणा बाहिर आइसकेको छैन।सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र समूहमाथि सरकारले लगाएको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरुमा सहमति भएको बताइएको छ तर राज्यलाई टाउको दुखाउने मुख्य विषय उक्त समूहसँग रहेको हातहतियारको विषयमा भने केही बोलेको छैन। पछिल्ला दिनहरुमा स्वचालित र आधुनिक हतियारसहित विप्लव समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ परेको विषयले राज्य संयन्त्रलाई टाउको दुखाइको विषय बनेको थियो। पक्राउ परेका नेता तथा कार्यकर्ताबाट प्रहरीले एलएमजी, एम–१६ राइफल, एसएलआरसहित साना स्वचालित हातहतियार बरामद गरेको छ। ती हतियारहरु नेपाली सेनासँग मात्रै रहेको बताइएको छ। प्रहरी प्रधान कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार विप्लव समूहका नेता तथा कार्यकर्तामार्फत् विभिन्न समयमा एक थान एलएमजी, एम १६ राइफल एक थान, ७.६२ एसएलआर राइफल एकथान, थ्री नट थ्री राइफल तीन थान, ९ एमएम एसएमजी दुई थान, सेमी अटोमेटिक पेस्तोल १० थान, एक थान रिकभर पेस्तोल, कटुवा पेस्तोल तीन थान र भरुवा बन्दुक दुई थान बरामद भएको छ। विप्लव समूहको गतिविधि अपराधिकतिर गएको भन्दै सरकारले २०७५ फागुन २८ गते उक्त समूहलाई प्रतिवन्ध लगाएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्