माघको पहिलो हप्तासम्म राष्ट्रियसभाको निर्वाचन, आयोगले थाल्यो तयारी

Machchapuchchre

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन माघको पहिलो हप्ता गर्ने गरी तयारी थालेको छ । संघीय संसद् सचिवालयले राष्ट्रियसभा निर्वाचनका लागि तयारी गर्न अनुरोध गर्दै आयोगलाई पत्राचार गरेको थियो । १४ मंसिरमा उपनिर्वाचन सम्पन्न गरेपछि राष्ट्रियसभाको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

आयोगले यही विषयमा आगामी सोमबार राजनीतिक दलसँग परामर्श गर्न लागेको छ । राजनीतिक दलहरुसँगको परामर्शका आधारमा निर्वाचनका लागि सरकारलाई मिति तोक्न सिफारिस गरिने प्रवक्ता श्रेष्ठले बताए । आयोग आगामी माघ पहिलो हप्तासम्म राष्ट्रियसभाको निर्वाचन गराउन सक्ने अवस्थामा रहेको एक आयुक्तले बताए ।

आगामी माघ १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नुपर्ने बाध्यता छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको फागुन २० गते पदावधि सकिँदैछ । रााष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी प्रावधान छ ।

हामी माघ पहिलो हप्तासम्म निर्वाचन गर्न सक्ने अवस्थामा छौं र राजनीतिक दलहरुबाट कस्तो परामर्श आउँछ सोही अनुसार जाने हो । छलफलमा आयोगको तयारी के छ भन्दा माघ पहिलो हप्तासम्म गर्न सक्छौं भन्ने हाम्रो राय रहन्छ’ ती आयुक्तले भने ।

राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुनेछ । रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्