अर्थ राजनीति ~ स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । थप कोरोना भेटिएसँगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन् ।
साउन ६ गते लेखा र प्रबन्ध शाखामा कार्यरत दुई हवल्दार र एक जवान गरी तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, सञ्चारमा कार्यरत सुरक्षाकर्मीको स्वाब लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
सुरक्षाकर्मीमा सङक्रमण फैलिएपछि साउन ७ गते ३० र साउन ८ गते ७३ जनाको स्वाब लिइएकोमा सोमबार एक महिलासहित १८ जनामा कोरोना सङ्क्रमण प्रमाणित भएको हो । स्वाब लिएकामध्ये ३५ जनामा १८ जनामा कोरोना देखिएको हो ।
सोमबार सङ्क्रमित पुष्टि भएकामा प्रहरी प्रमुखसहित, दुई जना असई, छ जना हवल्दार, आठ जना सिपाही र एक जना भान्से रहेका छन् ।
कोरोनाको सङ्क्रमण भेटिनुभएका प्रहरी प्रमुखले जनताको सुरक्षामा खटिँदा सङ्क्रमित भएको बताउँदै कोरोनामा जित हात पार्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।
यस्तै साउन ५ गते गल्याङ अस्पतालमा कोरोना सङ्क्रमितको उपचार गरेका एक जना डाक्टरमा कोरोन्ना पुष्टि भएको थियो ।