सकियो प्रचण्डले बोलाएको नेकपा हेडक्वार्टर बैठक, भए यस्ता निर्णय

Machchapuchchre

काठमाडौँ । अध्यक्ष प्रचण्डले बोलाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर बैठक सकिएको छ । बैठकले भर्खरै सम्पन्न भएको उपनिर्वाचनमा पार्टीको प्रदर्शनबारे गम्भीर समीक्षा गर्ने निर्णय गरेको छ । बुधबार बिहान साढे ९ बजेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा गर्ने निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले आजको बैठकले उपनिर्वाचनबारे सम्बन्धित कमिटीहरुलाई शीघ्र रिपोर्ट पेश गर्न निर्देशन दिएको जानकारी दिएका छन्। ‘हालसम्म उपनिर्वाचनमा घात÷अन्तरघातको सूचना आएको छैन । सम्बन्धित कमिटीहरुले निर्वाचनबारे रिपोर्ट पेश गरेपछि थप समीक्षा हुन्छ,’ श्रेष्ठले बताए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले यही मङ्सिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने बताए । सोही बैठकले साङ्गठनिक एकताका बाँकी काम, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकलगायत विषयमा छलफल गर्ने श्रेष्ठले जानकारी दिए ।

कार्यकारी अधिकार पाएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज पहिलो पटक पार्टीको सचिवालय बैठक बसेको थियो । आजको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए ।

बैठकले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति प्रशन्नता प्रकट गर्दै उनको सुस्वास्थ्यको कामना गर्ने प्रस्ताव समेत पारित गरेको छ । आगामी बैठकले संगठनात्मक एकीकरणका बाँकी कार्यभार टुङ्ग्याउने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै, अर्को बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्