अमेरिका द्वारा डब्लुएचओ लाइ दिदै आएको आर्थिक सहयोग रोक्का: अघिल्लो बर्ष चार सय मिलियन डलर सहयोग

Machchapuchchre

अर्थ राजनीति । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको काम निकै फितलो रहेको आरोप लगाउदै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन् । कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको आरोप छ ।

कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको गम्भीर आरोप पनि ट्रम्पले संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि लगाएका छन् । यो अवस्था सिर्जना हुनमा डब्लुएचओ जिम्मेवार हुनैपर्ने तर्क उनको छ । वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले भने, ‘मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिइँदै आएको सहयोग रोक्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको खराब व्यवस्थापन तथा चीनको ढाकछोप गरेको घटनाको मूल्यांकन गर्न भनेको छु ।’

डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ । गत वर्ष मात्र अमेरिकाले डब्लुएचओलाई चालिस करोड अमेरिकी डलर ( करिब ने.रु. ४९ अर्ब ) दिएको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।

यसअघि पनि ट्रम्पले कोरोना भाइरसको संक्रमणका सन्दर्भमा डब्लुएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाउँदै सहयोग रोक्ने चेतावनी दिइसकेका थिए । ट्रम्पको यस्तो आरोपमा डब्लुएचओका प्रमुखले भने कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म करिब २७ हजार मानिसको मृत्यु भएको छ भने ६ लाख १५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्