देशभर लकडाउन जारी रहेकै अवस्थामा ४ हजार ४६ विदेशी नागरिक स्वदेश फर्किए

Machchapuchchre

काठमाडौं । देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका हुन् ।

अध्यागमन विभागका अनुसार चैत १४ देखि २९ गतेसम्म विभिन्न ११ देशले जहाज चार्टर्ड गरी आफ्ना नागरिक फिर्ता लगेका हुन् । अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले लकडाउनको अवधिमा विभिन्न मुलुकले आफ्ना चार हजार बढी नागरिक उद्धार गरी घर फिर्ता लगेको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी जर्मन सरकारले एक हजार २०३ जना नागरिक फिर्ता लगेको छ । जर्मनीले चैत १४ गते ३०७, चैत १५ गते ३०५, चैत २२ गते ३०७ र चैत २६ गते २८६ नागरिकलाई स्वदेश फिर्ता लगेको छ । त्यसैगरी फ्रान्सले चैत १५ गते र चैत २२ गते दुई उडानमार्फत ६०८ नागरिकलाई नेपालबाट फिर्ता लगेको छ ।

अमेरिकाले पनि चैत १८ र चैत २३ गते दुईवटा उडानमार्फत नेपालमा रोकिएका आफ्ना ६०५ नागरिकको उद्धार गरेको छ । बेलायतले चैत २६ र २८ गते दुई उडानमार्फत ५०० नागरिक लगेको छ । अष्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी २५७ नागरिक स्वदेश लगेको छ ।

नेपाल एयरलाइन्सको चैत १९ गतेको चार्टर उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । जापानले पनि नेपाल एयरलाइन्सकै वाइड बडी जहाज चार्टर्ड गरी चैत २८ गते १९३ नागरिक स्वदेश लगेको छ । क्यानाडाले कतार एयरवेजको चैत २९ गते जहाजमार्फत २०७ नागरिक लगेको छ ।

त्यस्तै चैत २२ गते मलेसियाले ६६ र चेक रिपब्लिकनले १०२ नागरिक घर फर्काएका छन् भने चैत २० गते नेदरल्याण्डले १२४ नागरिक स्वदेश फर्काएको छ । नेपाल पर्यटन बोर्डले सरोकार निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो ।

सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् । लुक्ला, चितवन, पोखरा, मुस्ताङलगायत गन्तब्यबाट पर्यटकलाई काठमाडौँमा जम्मा गरी उनीहरुको मुलुक फर्काइएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपालका विभिन्न गन्तब्यमा रोकिएका पर्यटकको उद्धार गरी काठमाडौँसम्म ल्याएर उनीहरुको मुलुक फर्काउन सहजीकरण गरिरहेको बताए । उहाँले नेपालमा अझै कति पर्यटक छन् भन्नेबारे अध्ययन भइरहेको जानकारी दिए ।

बोर्डले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरबारे ‘अनलाइन सर्भे’को काम पनि शुरु गरिएको जनाइएको छ  । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । नेपालमा हलसम्म नौ जनामा कोभिड–१९को सङ्क्रमण देखिए पनि एकजना उपचारपछि घर फर्किसकेका छन् ।

कोभिड–१९को सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । विभिन्न चरणमा गरेर वैशाख ३ गतेसम्म लकडाउनको अवधि थपिएको छ । गत चैत १० देखि १८ गतेसम्म मुलुकभित्र प्रवेश गर्ने सबै अन्तरराष्ट्रिय उडान बन्द गरिएको छ । लकडाउनको अवधिमा कार्गोसहित २४ अन्तरराष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले चैत १० देखि २९ गतेसम्म २४ अन्तरराष्ट्रिय उडान भएको जानकारी दिए । यीमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको ग्वाङ्जाओमा गरेको दुई कार्गो उडान र श्री एयरलाइन्सले शनिबार सुडानमा गरेको कार्गो उडान छन् ।

यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को चार तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टीटान एयरवेजको समान एक–एक उडान भएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ पनि लकडाउन शुरु भएदेखि नै सबै उडान बन्द छ । करिब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए । आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान गर्छन् ।

विदेशीको उद्धार उडान तथा कार्गो उडानका लागि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दिनहुँजसो व्यस्त बन्यो । चैत १४ देखि २९ गतेसम्म दैनिकरुपमै अन्तरराष्ट्रिय उडान भए । यो बिचमा आन्तरिकतर्फ पनि उल्लेख्य सङ्ख्यामा उडान भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्