बुटवलबाट हिँडेरै कैलाली जान खोजेका ४२ जना सैनामैना नगरपालिकाको क्वारेन्टाइनमा

Machchapuchchre

बुटवल । रुपन्देहीको बुटवलबाट पैदल हिंडेरै कैलालीको टीकापुर जान खोजेका ४२ जना श्रमिकलाई सैनामैना नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

लकडाउनका कारण सार्वजनिक सवारी साधन नचलेपछि उद्योग र निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरु प्रहरीलाई छल्दै पैदल हिंडेरै बुटवलबाट सैनामैनाको मुर्गियामा पुगेका बेला स्थानीयले देखेपछि रोकेका हुन् ।

स्थानीयले नगर प्रमुख चित्रबहादुर कार्कीलाई जानकारी गराएपछि ४२ जनालाई नै क्वारेन्टाइनमा राखिएको हो । ‘समूह समूह बनाएर राजमार्गमा पैदल हिंडेरै बुटवलबाट आएका रहेछन्, रोकेर क्वारेन्टाइनमा लगेर राख्यौं’–सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले भने– ‘रुपन्देहीबाट कैलालीसम्म पैदल हिंडेर जाँदा कोरोना संक्रमणको जोखिम हुनसक्छ भनेर रोकेका हौं ।’ उनीहरुलाई सैनामैनाको वडा नं. १ बनकट्टास्थित प्राकृतिक चिकित्सालयमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेर मात्रै घर जान दिइने नगर प्रमुख कार्कीले बताए ।

कैलालीका विशाल चौधरीले लकडाउन खुल्ला र घर जाउँला भन्दाभन्दै १७ दिन बितेको र अझै लम्बिने देखेर पैदल हिंडेरै घर जान खोजेको बताए । ‘आधा महिना भन्दा बढी कामै नगरी बसियो’, चौधरीले भने ‘भएको पैसा पनि सकियो, काम नभएको बेला ठेकेदारलाई पनि कति पैसा माग्नु भनेर हिंडेरै घर जान थालेको जान दिएनन् ।’

नगरपालिकाका स्वास्थ्य निरीक्षक हेमराज पन्थीले क्वारेन्टाइनमा राखिएका सबैको स्वास्थ्य परीक्षण गरिने र हालसम्म चेकजाँच गरिएकाको अवस्था सामान्य रहेको बताए । यसअघि रुपन्देहीको तिलोत्तमा वडा नं ७ मा भवन निर्माणमा काम गर्ने ९ जना मजदुर पनि पैदल हिंडेर कैलाली जान खोजेकामा तिलोत्तमा नगरपालिकाले योगीकुटी पुलमा रोकेर ठेकेदारको जिम्मा लगाएको तिलोत्तमा–३ का वडा सदस्य रामु पौडेलले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्