कोरोनाभाइरस परीक्षणमा हेलचक्र्याइँ नगर्न सरकारलाई कांग्रेसकाे आग्रह

Machchapuchchre

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस परीक्षणमा हेलचक्र्याइँ नगर्न सरकारलाई आग्रह गरेको छ। परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएको कांग्रेसले परीक्षण गर्न सरकार कुन साइतको पर्खाइमा छ? भन्ने प्रश्न गरेको छ।

‘अब रत्तिभर हेलचक्र्याइँको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट। जसको परिणाम भयावह हुन सक्छ। समयको गम्भीरता अनुरूप सरकारले गति बढाओस्,’ प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शर्माले सरकारलाई कोरोनामा चीनको सफलताबाट सिक्नुपर्ने सुझाव दिएका छन्। ‘चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने?,’ उनको प्रश्न छ। कैलालीमा एक स्थानीय महिलामा संक्रमण देखिएको विषयलाई गम्भीरतापूर्वक लिन उनले सरकारलाई आग्रह गरेका छन्।

‘यसअघि संक्रमण देखिएका ६ जना विदेशबाट आएका नेपाली थिए। तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं,’ उनले भनेका छन्।

उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य सरकारले समयमै गरेको भए खतराको आकार बढेर नजाने पनि उनले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्