नेकपाका ६० नेता/कार्यकर्ताको टोली लिएर प्रचण्ड चीन जाने

Machchapuchchre

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६० नेता/कार्यकर्ताको टोली लिएर उत्तरी छिमेकी मुलुक चीन जाने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल विभागले गरेको निमन्त्रणामा उनीहरू डिसेम्बर १० मा चीन जान लागेको नेकपाका स्कुल विभाग उपप्रमुख वेदुराम भुषालले जानकारी दिए। यो भ्रमण १० दिनको हुनेछ। प्रचण्ड दश दिननै चीन भ्रमणमा बस्ने छन् वा बीचमा फर्किने छन् भन्ने टुंगो लागिसकेको छैन।

भुषालकाअनुसार केही समयअघि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भएको समझदारी अनुसार चीनले भ्रमणको निम्तो दिएको हो। असोजमा काठमाडौंमा भएको दुई कम्युनिष्ट पार्टीको अन्तरक्रिया कार्यक्रमको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र नेकपाका विदेश विभाग प्रमुखबीच नेता कार्यकर्ताले एकअर्काका देश भ्रमण र अनुभव साटासाट गर्ने समझदारी भएको थियो। सोही समझदारी अनुसार पहिलो टोली चीन भ्रमण जाने भएको हो।

शुक्रबार अध्यक्ष दाहालले छिट्टै आफू चीन भ्रमणमा जाने बताएका थिए। ‘राष्ट्रपति सी नेपाल आएपछि चीनको इतिहास तथा आन्दोलनबारे नेपालका पार्टीहरू र नेताहरूले त्यहाँको अध्ययन गर्ने र उहाँहरू पनि यहाँ आएर अध्ययन गर्ने एउटा समझदारी भएको थियो,’ उनले भनेका थिए,’पहिलो टोली सायद छिट्टै चीन जाँदैछ। उहाँहरूले मेरै नेतृत्वमा आइदिओस् भनेर प्रधानमन्त्रीजी र मलाई पनि भन्नु भएको छ र म जाँदै पनि छु।’

प्रचण्डको टोलीमा भीम रावल, टोपबहादुर रायमाझी, रघुजी पन्त र गणेश शाह गरी चार स्थायी कमिटी सदस्य चीन जाने छन्। त्यस्तै आनन्द पोखरेल, खेममान खड्का, हितराज पाण्डे, हितमान शाक्य, गोकुल घर्ती , यज्ञराज सुनार, विशाल भट्टराई लगायत ३५/३६ जना केन्द्रीय सदस्य चीन जाने टोलीमा परेका छन्। बाँकी २० जनामा विभिन्न आयोगका सदस्यहरू, प्रदेश कमिटी, जिल्ला कमिटीलगायतबाट प्रतिनिधित्व गरेर चीन भ्रमणमा जाने नेकपा स्रोतले बताएको छ।

कार्यतालिका अनुसार, उनीहरू पहिलो दिन चीनको छेन्दु पुग्नेछन्। दोस्रो दिन उनीहरू छिन्दुबाट तिब्बतको जाने छन्। त्यहाँ उनीहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग र स्वशासित क्षेत्र तिब्बतका नेताले सम्बोधन गर्नेछन्।

त्यहाँ उनीहरू अर्को दिनसम्म बस्ने छन्। चौँथो दिन स्वशासित क्षेत्र ग्वाङ्छि जुहाङ पुग्ने छन्। त्यहाँ उनीहरू अर्को पाँच दिन बस्ने छन्। पाँच दिनसम्म सी चिनफिङ विचारधारा, बिआरआईलगायतका विषयमा छलफल हुनेछ। विभिन्न पार्टी कमिटीसँगको भेट र भ्रमण पनि गर्ने कार्यक्रम छ। दशौं दिन उनीहरू त्यहाँबाट छेन्दु अनि नेपाल फर्किनेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्