दुई महिनापछि खुले चीनतर्फका रसुवागढी र तातोपानी व्यापारिक नाका

Machchapuchchre

काठमाडौं । करिब दुई महिनापछि सरकारले नेपाल–चीन व्यापारिक नाका खुला गरेको छ । सरकारको निर्णयपछि शुक्रबारबाट रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएका हुन् ।

भन्सार विभागमा महानिर्देशक सुमन दाहालले नाकाबाट भन्सार जाँचपास सुरु भएको जानकारी दिए । उनका अनुसार माघको १५ गतेबाट औपचारिक रुपमा यी नाकामार्फत् हुने आवात जावत रोकिएको थियो ।

तर, त्यसअघि पुसको मध्यबाटै चीनतर्फको भूभागमा भएको हिमपातले पनि नाका खुले पनि सामान भित्रिन सकेको थिएन । तत्कालका लागि यी नाकाबाट सामान र सवारी आवागमन मात्रै सञ्चालन हुनेछ ।

यसका लागि ढुवानीमा सहभागी हुने चालक, सीमामा रहने सुरक्षाकर्मी, अध्यागमन तथा भन्सारका कर्मचारी, यार्डमा रहने श्रमिकहरु र आयातीत वस्तुमा कोरोना संक्रमणको जोखिम हटाउन डिस्इन्फेक्सन गरिनेछ ।

वस्तु ढुवानी, चालकको सुरक्षा र व्यवस्थापन, क्वारेन्टाइन नियमलगायतलाई लिएर व्यवस्थापन मोडालिटी बनेको छ । हेल्थ असिस्टेन्टका भरमा रहेका दुबै नाकामा अहिले मेडिकल अफिसरको नेतृत्वमा टोली खटाइएको छ । रसुवागढी नाकामा दुई चिकित्सक, एकजना हेल्थ असिस्टेन्ट र एकजना नर्स तैनाथ गरिएको छ ।

प्रोटोकलअनुसार चीनबाट तोकिएका चालकले चीनबाट नेपाल भित्रिने कन्टेनर पहिले भन्सार यार्डमा ल्याउनेछन् । त्यसलाई क्वारेन्टाइन विधिअनुसार किटाणुरहित बनाउने काम गरिन्छ । त्यसपछि अर्कै सवारी चालकमार्फत् नेपालको गन्तव्यमा पु‍र्‍याइनेछ । अहिले केरुङमा करिब चार सय कन्टेनर सामान नेपालका लागि आइपुगेको अनुमान छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्