इटालीमा थप ७४३ जनाको मृत्यु , संक्रमितको संख्या सार्वजनिक भएभन्दा १० गुना बढी हुनसक्ने

Machchapuchchre

काठमाडाैं । दुई दिनसम्म मृतकको संख्या घटेको इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्लो समय फेरी बढेको छ। त्यहाँको नागरिक सुरक्षा विभागले २४ घण्टाको अवधिमा मंगलबारसम्ममा थप ७४३ जनाको मृत्यु भएको जनाएको छ। सोमबार संक्रमणबाट ६०२ जनाको मृत्यु भएको थियो।

इटाली पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक बनेको छ। हालसम्म संक्रमणका कारण त्यहाँ ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ भने ६९ हजार १ सय ७६ जनामा संक्रमण पुष्टि भइसकेको छ।

रोयटर्सले आफ्नो समाचारमा त्यहाँको नागरिक सुरक्षा विभागलाई उद्धृत गर्दै संक्रमितको संख्या सार्वजनिक भएभन्दा १० गुना बढी हुनसक्ने जनाएको छ। उसले इटालीमा गम्भीर लक्षण देखिएकालाई मात्र परीक्षण गरिएकाले संक्रमितको वास्तविक संख्या यो तहमा हुनसक्ने जनाएको हो।

बितेका दुई सातादेखि ‘लकडाउन’मा रहँदै आएको इटालीका लागि यो निराशाजनक आँकडा हो। संक्रमण रोकथामका लागि इटालीले आफ्ना नागरिकहरूलाई अत्यावश्यकबाहेकका अवस्थामा घरभित्र नै बस्न भन्दै आइरहेको छ। मानिसहरूको अनावश्यक आवतजावत रोक्न इटालीले यसअघि नियम उल्घंन गर्नेलाई तोकेको २०६ युरोको जरिवानालाई ३ सय युरो पुर्‍याएको छ।

देशमा संक्रमणको असर कम नभएपछि इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले सबै नागरिकले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेल्न आग्रह गरेका छन्। ‘सबैले नियम माने उनीहरूले आफू र आफ्ना प्रियजनलाईमात्र जोगाउँदैनन्, उनीहरूले यस आपतबाट पूरा देशलाई निकाल्न मद्दत गर्नेछन्’, कोन्टेले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्